" />
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् ।
शुक्रवार गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो दिन संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याउने बिच जनमत संग्रह हुन लागेको बताए ।
‘मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन छदै छैन,’ उनले भने, ‘नेपाली जनताले झण्डै ७० बषै लडेर ल्याएको संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याएर फेरि देशलाई निरंकुशता र अराजकतातिर धकेल्ने बिचमा जनमत संग्रह हुन लागेको छ ।’
राजतन्त्र फिर्ता ल्याउनका लागि आफूहरुविरुद्ध अर्को गठवन्धन बनेको बताउँदै उनले दुई गठवन्धन बिच राजनीतिक भिडन्त हुने जानकारी दिए ।
आसन्न निर्वाचनमा अत्याधिक बहुमतले आफूलाई विजयी गराएर नयाँ इतिहास कायम गर्न पनि उनले आग्रह गरेका छन् । ‘संसारले पनि गोरखाले नयाँ इतिहास कायम गर्यो भन्ने खालको मतपरिणाम ल्याउनुपर्यो, अरु जस्तै सरदर जित हुनु भएन,’ उनले भने ।