" />
असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको दायरा फराकिलो छ । उनी फिल्मका नायक हुन् । मोटिभेसनल स्पिकर हुन् । सगरमाथा आरोही हुन् । एक दुर्घटनामा दुवै हात गुमाएपछि आफूबाट संसार चुँडिएको महसुस गरेका उनले जब आफूभित्रको शक्तिलाई चिने, त्यसपछि उनले चुनौतीसँग पौंठेजोरी खेल्दै आएका छन् । र, हरेक चुनौतीलाई उनले परास्थ गरेका छन् । उनले जीवनमा उठाएको सबैभन्दा ठूलो चुनौती नै संसारकै अग्लो शिखर सगरमाथा चढ्ने संकल्प लिनु थियो ।
उनले सन् २०१३ मा सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा चढेको करिब १० वर्षपछि उनले आरोहणको क्रममा भोगेका भोगाइ सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । सगरमाथा आरोहणको क्रममा आफ्नो प्राणदाता बनेका सगरमाथा आरोही तथा उद्दारकर्मी शिव बहादुर सापकोटालाई नेपाल सरकारले ‘जनसेवाश्री पन्चम’ श्रेणी पदकबाट सुशोभित गरेको अवसरमा उनले शिवले आफूलाई बचाउन खेलेको भूमिका स्मरण गरेका हुन् ।
सुदर्शनको टिमका लिडर पेम्बा दोर्जे शेर्पा थिए । र, शिव त्यस टिमको सदस्य । यदि उनी त्यस टिममा हुन्थेनन् भने आफ्नो सगरमाथा आरोहणको सपना नै पूरा नहुने सुदर्शनले फेसबुकमा उल्लेख गरेका छन् । पेम्बा दोर्जे शेर्पाले बंगाली सगरमाथा आरोहीलाई हात-खुट्टा बाँधेर ‘डेथ जोन’भन्दा तल छोडेर हिँडेको र शिवले त्यस्तो नगर्न आग्रह गर्दा ‘चुप लागेर आफ्नो बाटो लाग् नत्र तेरो पनि हात खुट्टा बाँधेर छोड्छु’ भन्ने धम्की दिएपछि शिव र आफू क्याम्प ४ तिर हिँडेको सुदर्शन स्मरण गर्छन् ।
दोस्रो दिन अभिनेत्री निशा अधिकारीको आरोहण टिमले पनि बंगाली आरोहीले सहयोग मागेको भन्ने कुरा सुन्नमा आएको सुदर्शनले बताएका छन् । उक्त बंगाली आरोहीलाई नियोजित तरिकाले छोडेर पेम्बा र उसको टिम हिँडेको र आफूहरुले क्याम्प ४ सम्म जान कोलोम्बियाका आरोही समुहसँग सहयोग मागेको उनले स्मरण गरेका छन् । तर, कोलोम्बियाको समुह नै समस्यामा रहेकाले आफूलाई शिव एक्लैले बचाएर क्याम्प ४ सम्म पुर्याएको उनी सम्झन्छन् ।
‘मेरो ‘रेस्क्यू’ नै असाधारण थियो । सगरमाथा आरोहण गर्दा मान्छे मर्नु साधारण कुरा मानिन्छ तथा त्यस्तो प्रभाव बनाइएको छ । तर, ‘डेथ बडी रेस्क्यू’ गर्दा इन्स्योरेन्सबाट टिमलाई ४ गुनाभन्दा बढी पैसा पाउने हुँदा केही कालो धन्दामा संलग्न लिडरले आरोहीहरुलाई मार्नसम्म पछि नपर्ने कुरा अरु आरोही तथा किताबहरु पढेर थाहा पाएँ । नेपाल सरकार तथा पर्यटन मन्त्रालयले उक्त विषयमा ध्यान दिन जरुरी छ,’ उनले लेखेका छन् ।
आफू र शिवको ज्यान पनि खतरामा रहेको बुझेपछि शिवकै सुझावमा आफू क्याम्प ३ को अलिमाथि (संसारकै प्रथम हेलिकप्टर रेस्क्यू)बाट काठमाडौं आएको सुदर्शनले स्मरण गरेका छन् । त्यसबेला उनलाई शिवले भनेका थिए, ‘सुदर्शन म जसरी पनि बाँचेर आउँछु । मरे पनि मर्छु तर तिमी बच्नुपर्छ । भोलि हेलिकप्टर आउँछ चुप लगेर तिमी जानु ल ।’ सुदर्शन आज आफू ज्यूँदो हुनुको कारण नै शिवलाई मान्छन् । बैशाख १ गते उनलाई नेपाल सरकारले विभुषित गरेकोमा सुदर्शन खुसी छन् ।