सिन्धुपाल्चोक । पाँच पोखरीको पवित्र हिमाली काखमा महाशिवरात्रिको पावन अवसर पारेर आयोजित विशेष योग–ध्यान, साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित यस धार्मिक तथा पर्यटकीय गन्तव्यमा २०८२÷११÷०१ गतेदेखि सुरु भएको आध्यात्मिक,सांस्कृतिक र साहसिक यात्रा सहभागीहरूका लागि अविस्मरणीय अनुभव बनेको आयोजकले जनाएको छ।

विश्वकै अग्ला तालहरूमध्ये करिब ९औँ स्थानमा मानिने पाँच पोखरी क्षेत्रमा हिमालको शान्त ऊर्जा र प्राकृतिक सौन्दर्यबीच गरिएको योग–ध्यान तथा साउन्ड हिलिङ्ग अभ्यासले सहभागीहरूलाई गहिरो आत्मिक शान्ति, मानसिक सन्तुलन र सकारात्मक ऊर्जा प्रदान गरेको बताइएको छ। कार्यक्रमको आयोजना New Vision Nepal ले गरेको थियो। हिमाली वातावरणमै गरिएको साधनाले ‘प्रकृतिसँगको एकत्व’ को अनुभूति गराएको सहभागीहरूको अनुभव छ।

सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। कलाकार सबनम खड्गीले जीवित देवी कुमारीको भाव झल्किने कुमारी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिका (सम्पदा तथा पर्यटन विभाग), पाँचपोखरी थाङपाल गाउँपालिका, Third Rock Adventures, Himalayan Wellness Foundation तथा Natural Sound Healing International School को सहकार्य र सहयोग रहेको थियो। विभिन्न संघ–संस्थाको सहकार्यले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने आधार तयार गरेको आयोजकको भनाइ छ। संस्थाका अध्यक्ष योगी अशोक शर्मा भट्टको विशेष पहलमा सम्पन्न यस कार्यक्रममा जम्मा २५ जना साधक तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

Nepal Telecome