आकांक्षा धामी / नेपाल न्यूज बैंक

काठमाडौं । नेपालको समकालीन राजनीतिमा यतिबेला ‘नयाँ अनुहार’ बहसको केन्द्रमा पुगेका छन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म, विश्वविद्यालयदेखि सार्वजनिक मञ्चसम्म एउटै प्रश्न दोहोरिन्छ अबको राजनीति पुरानै नेतृत्वको निरन्तरता हो कि नयाँ पुस्ताको प्रयोग ? जेनजी पुस्ताको सक्रियता र आन्दोलनपछि परम्परागत दलहरूप्रति बढ्दो असन्तोषले वैकल्पिक नेतृत्वको खोजी तीव्र बनेको छ । यही परिवेशमा स्थापित नेताहरूलाई चुनौती दिँदै नयाँ पुस्ताका आकांक्षीहरू चुनावी मैदानमा उत्रिएका छन् ।

यो चुनावको परिघटना केवल व्यक्तिको प्रतिस्पर्धा होइन, राजनीतिक संस्कार, कार्यशैली र सोचको प्रतिस्पर्धा पनि हो । लामो समयदेखि सत्ताको केन्द्रमा रहेका दलहरूविरुद्ध जनआक्रोश चुलिँदा मतदाताले ‘परिणाममुखी’ र ‘उत्तरदायी’ नेतृत्व खोजिरहेको संकेत देखिन्छ । तर प्रश्न यथावत् छ यो परिवर्तन दीर्घकालीन राजनीतिक पुनर्संरचना हो कि क्षणिक आवेगको परिणाम ?

Nepal Telecome

झापा–५ : दुई धारको टक्कर

झापा क्षेत्र नं ५ यतिबेला राष्ट्रिय बहसको केन्द्रमा छ । यहाँ केपी शर्मा ओली र बालेन शाहबीच सम्भावित प्रतिस्पर्धालाई धेरैले अर्थपूर्ण राजनीतिक भिडन्तका रूपमा लिएका छन् ।

ओली लामो राजनीतिक अनुभव, बलियो संगठनात्मक संरचना र स्थापित मताधारका कारण प्रभावशाली मानिन्छन् । पार्टी संयन्त्र, कार्यकर्ता परिचालन र रणनीतिक अभ्यासमा उनी पारंगत नेताका रूपमा चिनिन्छन् । झापाको सामाजिक–राजनीतिक संरचनामा उनको गहिरो जरा रहेको छ ।
अर्कोतर्फ बालेन शाह युवा पुस्ताको प्रतिनिधि, वैकल्पिक सोच र परिवर्तनको एजेन्डा बोकेर मैदानमा उत्रिएको छवि बनाएका छन् । उनका समर्थकहरू पुरानो राजनीतिक संस्कारबाट निराश मतदाताले नयाँ विकल्प रोज्ने विश्वास व्यक्त गर्छन् । बालेनले सामाजिक सञ्जालमार्फत सशक्त उपस्थिति र स्वतन्त्र छविले युवापुस्तालाई आकर्षित गरेका छन् ।

बालने शाह पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्, तर सामान्य उम्मेदवारको स्तरमा होइन । उनी सीधा प्रधानमन्त्री पदको आकांक्षा सहित राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै पहिलो पटक ठूलो चुनौती प्रस्तुत गर्दैछन् । उनी युवा पुस्ताको प्रतिनिधित्व र परिवर्तनको एजेन्डा लिएर मैदानमा आएका छन्, जसले चुनावी माहोलमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।

तर चुनाव केवल लोकप्रियताको खेल होइन । मतदातालाई मतदान केन्द्रसम्म पुर्याउने संगठन, गठबन्धन व्यवस्थापन, स्थानीय समीकरण र मतगणनासम्मको रणनीति उत्तिकै महत्वपूर्ण हुन्छ । यदि परिवर्तनको नारा मतपेटिकासम्म पुग्यो भने मात्र राजनीतिक इतिहास लेखिन्छ, अन्यथा त्यो लहर सामाजिक सञ्जालमै सीमित रहन सक्छ ।

काठमाडौं–३ : प्रशासकीय छविको परीक्षा

यसैबीच काठमाडौं क्षेत्र नं ३ मा कुलमान घिसिङको उम्मेदवारीले अर्को बहस जन्माएको छ । लोडसेडिङ अन्त्यसँग जोडिएको उनको प्रशासनिक छविले उनलाई परिणाममुखी र कडाइका साथ काम गर्ने नेतृत्वका रूपमा स्थापित गरेको मानिन्छ । उनी उज्यालो नेपाल पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

उनका समर्थकहरू कार्यक्षमता, इमान्दारिता र प्रत्यक्ष उपलब्धिलाई मतदाताले प्राथमिकता दिने दाबी गर्छन् । ‘काम देखिएको नेतृत्व’ अबको आवश्यकता हो । तर राजनीतिमा प्रशासकीय सफलताले मात्र पर्याप्त हुँदैन । जनसंगठन विस्तार, दीर्घकालीन रणनीति, गठबन्धन राजनीति र वैचारिक स्पष्टता जस्ता पक्षहरू निर्णायक बन्छन् ।

चुनावी मैदानमा प्रवेश गरेपछि कुनै पनि व्यक्तित्व ‘प्रशासक’ बाट ‘राजनीतिज्ञ’ मा रूपान्तरण हुनुपर्छ । त्यसका लागि केवल व्यक्तिगत लोकप्रियता होइन, संस्थागत क्षमता र दिगो नीति आवश्यक हुन्छ ।

परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता ?

यसपटकको निर्वाचनले अनुभवी नेतृत्व र नयाँ अनुहारबीच स्पष्ट ध्रुवीकरण देखाएको छ । एकातिर स्थायित्व, अनुभव र संगठनात्मक मजबुतीको दाबी छ भने अर्कोतर्फ पारदर्शिता, उत्तरदायित्व र नयाँ राजनीतिक संस्कारको माग ।

नयाँ अनुहारहरूको उदयले आशा भने अवश्य जगाएको छ । यसले पुरानो ढर्रालाई चुनौती दिएको छ र राजनीतिक प्रतिस्पर्धालाई जीवित बनाएको छ । तर आवेगमा गरिएको निर्णयले दीर्घकालीन स्थिरता दिन सक्छ कि सक्दैन भन्ने प्रश्न खुला छ ।

मतदातासामु अहिले भावनात्मक आकर्षण र विवेकपूर्ण निर्णयबीचको छनोट छ । व्यक्तिको लोकप्रियता भन्दा पनि उसले दिने नीतिगत स्पष्टता, संस्थागत क्षमता र राजनीतिक स्थिरताको खाका महत्वपूर्ण हुने छ ।

अन्ततः लोकतन्त्रमा परिवर्तन सम्भव मात्र होइन, अपरिहार्य प्रक्रिया हो । तर त्यो परिवर्तन टिकाउ, उत्तरदायी र परिणाममुखी हुनुपर्छ । नयाँ अनुहारहरू आशाको प्रतीक बन्न सक्छन् । यदि उनीहरू आवेगभन्दा जिम्मेवारी, नाराभन्दा नीति र लोकप्रियताभन्दा संस्थागत विकासमा केन्द्रित हुन सके । अन्यथा, यो लहर पनि समयसँगै हराउने जोखिम रहन्छ । अबको निर्णय मतपेटिकामा हुनेछ । परिणामले तय गर्नेछ स्थायित्वको निरन्तरता कि परिवर्तनको प्रयोग ।