ठमाडौं । श्रम संस्कृति पार्टीले श्रम, प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनमार्फत समाज रूपान्तरण गर्ने एजेण्डासहित आफ्नो चुनावी दृष्टिपत्र सार्वजनिक गरेको छ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष उम्मेदवार रहेका मणिराम बहादुर प्रधानले भाषणभन्दा श्रममुखी परिवर्तन आवश्यक रहेको बताएका छन् ।

पार्टीले ‘अब भाषणको खेती होइन, श्रमको क्रान्ति’ भन्ने नारासहित लोकतन्त्र, संघीयता र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गरेको छ ।

Nepal Telecome

समानुपातिक, समावेशी र धर्मनिरपेक्ष राज्य संरचना कायम राख्दै सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक रूपान्तरणलाई प्राथमिकता दिने जनाएको छ ।

पार्टीको वैचारिक आधार ‘हर्कवाद’ रहेको उल्लेख गर्दै यसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित प्रयोगमार्फत दिगो विकास सम्भव हुने बताएको छ ।

उक्त अवधारणा स्वतन्त्र अभियन्ता हर्क साम्पाङले अघि सारेको श्रम, प्रकृति संरक्षण र नागरिक सहभागितामुखी सोचबाट प्रेरित भएको बताइएको छ ।

घोषणापत्रमा अनिवार्य श्रमदान, प्राकृतिक स्रोत संरक्षण, सांस्कृतिक उन्नयन, प्रविधि विकास तथा विश्वबजारमा प्रतिस्पर्धात्मक उत्पादन विस्तार गर्ने योजना समावेश गरिएको छ ।

‘एक गाउँ–एक उद्योग, एक व्यक्ति–एक उद्यान’ कार्यक्रममार्फत स्थानीय उत्पादन र रोजगार वृद्धि गर्ने लक्ष्य पार्टीले लिएको छ ।
शिक्षा क्षेत्रमा जीवनोपयोगी, उत्पादनमुखी र आविष्कारमा केन्द्रित प्रणाली लागू गर्ने, कला, साहित्य र खेलकुदलाई औद्योगिकीकरणतर्फ लैजाने तथा किसान र उद्योगमैत्री सरकार गठन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

साथै विदेशी हस्तक्षेपमुक्त सुशासन, सामाजिक न्याय, राष्ट्रिय एकता र स्वाभिमानसहितको समृद्धि आफ्नो मुख्य लक्ष्य रहेको पार्टीले जनाएको छ । आगामी निर्वाचनमा ‘माटो’ चुनाव चिन्हमा मतदान गरी देश निर्माणको अभियानमा साथ दिन पार्टीले मतदातासँग अपिल गरेको छ ।