भक्तपुरको बिस्का जात्रा : सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवद्र्धनको माध्यम
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । भक्तपुर तथा मध्यपुर थिमी क्षेत्रमा मनाइने ऐतिहासिक बिस्का जात्राको रमझम सुरु भएको छ । आठ दिन नौं रातसम्म चल्ने जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
भक्तपुरको आकाशमा जब ५५ हात लामो ‘ल्योसिं’ (लिङ्गो) ठडिन्छ, तब यहाँका गल्लीहरूमा नयाँ वर्षको उत्साह मात्र होइन, प्राचीन सभ्यताको सुगन्ध पनि फैलिन्छ । सौर्यमान (सौर मास) आधारमा मनाइने बिस्का जात्रा भक्तपुर र मध्यपुर थिमिको यस्तो उत्सव हो, जहाँ देवता र मानवबीचको सम्बन्धलाई रथयात्रा, तान्त्रिक पूजा र सामूहिक शक्तिमार्फत प्रस्तुत गरिन्छ ।
स्थानीय पर्यटन व्यवसायी राम सुन्दर भेलेका अनुसार जात्रा भक्तपुरको एउटा ठूलो उत्सव मात्र नभएर यहाँको जीवनशैली र सानको प्रतीक पनि हो ।
विशेषगरी भैरवनाथको रथयात्राबाट सुरु हुने जात्रा चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म मनाइन्छ । रथ तानेर टमडी क्षेत्रमा पुर्याएपछि जात्रा प्रारम्भ हुन्छ भने ल्यासिङखेलमा लिङ्गो ‘ल्योसिं’ उठाउने र ढाल्ने प्रक्रिया यसको मुख्य आकर्षण हो ।
स्थानीय तहका अनुसार जात्राको तयारी पूरा भइसकेको छ र सुरक्षा, व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान दिइएको छ । स्थानीय भेलेले बिस्का जात्रा केवल रथ तान्ने पर्व मात्र नभई समग्र सांस्कृतिक जीवनसँग जोडिएको बताए ।
उनले भने, ‘बिस्का जात्रा भनेको रथ तान्ने मात्र होइन संस्कृति, परम्परा र सामाजिक जिम्मेवारीसँग जोडिएको ठूलो उत्सव हो । आठ दिन नौं रातसम्म चल्ने जात्रामा सबै जातजाति र समुदायको सहभागिता हुन्छ । कसैले पूजा गर्छन्, कसैले रथ तान्छन, कसैले व्यवस्थापन गर्छन् । सबैको आ–आफ्नो भूमिका हुन्छ ।’
उनले ल्यासिङखेलमा लिङ्गो उठाउने र ढाल्ने प्रक्रियाले शक्ति, एकता र परम्पराको प्रतीक झल्काउने बताए ।
‘लिङ्गो उठाउने र ढाल्ने क्षण निकै रोमाञ्चक हुन्छ । मानिसहरूबीचको सहकार्य र उत्साहले जात्रालाई अझ विशेष बनाएको छ,’ उनले भने ।
बिस्का जात्रासँग विभिन्न किंवदन्तीहरू जोडिएका छन् । एक जनविश्वास अनुसार काशीबाट आएका भैरवलाई भक्तपुरमा स्थापन गर्ने क्रममा उनी जमिनभित्र विलीन भएका र शिर मात्र यहाँ रहेको मानिन्छ । त्यसैले भक्तपुरमा भैरवको विशेष महत्व रहेको मानिन्छ । जात्राका क्रममा २८–२९ गते कन्फटा जोगीहरूद्वारा बलि दिने परम्पराले पनि प्राचीन सांस्कृतिक सम्बन्धलाई झल्काउँछ ।
जात्राको मुख्य तालिकाहरु २७ गते–रथ तान्ने र गाइती क्षेत्रमा राख्ने, २९ गते स्याकोट्या सुरु गरि बलि दिने, ३० गते रथ तानेर लिङ्गो उठाउने, ३१ गते लिङ्गो ढाल्ने र भैरव–भद्रकाली रथ जुधाउने, ४ गते विशेष पूजा तथा सगुन वितरण गर्ने र ५ गते अन्तिम रथयात्रा गरी जात्रा समापन गरिन्छ ।
यस अवधिमा इन्द्रायणी, महालक्ष्मी, महाकाली, ब्रह्मायणी लगायत विभिन्न देवीदेवताका जात्राहरू पनि समानान्तर रूपमा सञ्चालन हुन्छन्।
बिस्का जात्राले आन्तरिक तथा बाह्य पर्यटनमा ठूलो योगदान पुर्याउँदै आएको छ । जात्राका बेला भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ ।
काठबाट बनेको विशाल रथ, मानव शक्तिबाट तानिने प्रतिस्पर्धात्मक शैली र सामूहिक सहभागिताले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । भेलेका अनुसार रथ तान्ने क्रममा देखिने उत्साह र शक्ति प्रदर्शन अन्यन्त दुर्लभ अनुभव हो,जसका कारण धेरै पर्यटक हरेक वर्ष पुनः आउने गरेका छन् ।
बिस्का जात्रा केवल पर्व मात्र नभइ नेवार समूदायको जीवन्त इतिहास र कलाको प्रदर्शन पनि हो । यसको संरक्षण गर्नु सबैको दायित्व हो।
यस्तै, मध्यपुर थिमी नगरपालिकामा मनाइने ऐतिहासिक बिस्का जात्रा भने भक्तपुरमा भन्दा केही ढिलो सुरु हुन्छ । मध्यपुर थिमीमा चैत्र ३० गतेबाट सुरु हुने जात्राको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
नगरपालिकाले प्रशासन, स्थानीय संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गर्दै जात्रालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
नगरप्रमुख श्रेष्ठका अनुसार बिस्का जात्रालाई लक्षित गरी जिल्ला प्रशासन, जनप्रतिनिधि तथा परम्परागत रूपमा जात्रा सञ्चालन गर्ने गुठी संस्थाहरूसँग छलफल सम्पन्न भइसकेको छ ।
‘बिस्का जात्राको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । हामीले जिल्ला प्रशासन, संघसंस्था र जात्रा सञ्चालन गर्ने नेतृत्वसँग छलफल गरेर सम्भावित घटनाहरू रोकथाम गर्न आवश्यक सबै जिम्मेवारी बाँडफाँड गरिसकेका छौं,’ उनले भने ।
उनले जात्रालाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न विशेष ध्यान दिइएको बताए ।
उनले भने, ‘मध्यपुर थिमीमा बिस्का जात्रा अत्यन्त सभ्य र शान्तिपूर्ण रूपमा सञ्चालन हुन्छ । झैझगडा हुने अवस्था कम हुन्छ, भएपनि स्थानीयले नै मिलाउने परम्परा छ ।’
नगरपालिकाले सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष निर्णयसमेत गरेको छ ।
‘जात्राको समयमा खुला रूपमा मदिरा बिक्री वितरण नगर्ने निर्णय गरेका छौं । यसको पालना गर्न सबै नगरबासीलाई आह्वान गरेका छौं,’ उनले भने ।
मध्यपुर थिमी नगरपालिकाले जात्रालाई लक्ष्यित गर्दै ‘गन्तव्य मध्यपुर’ कार्यक्रम गर्ने भएको छ । जात्राको पूर्वसन्ध्यामा २८ र २९ गते ‘गन्तव्य मध्यपुर’ कार्यक्रम आयोजना गरिने नगरप्रमुख श्रेष्ठले बताए ।
उनले भने, ‘२८ र २९ गते काठमाडौं उपत्यकाव्यापी खुल्ला धिमेबाजा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादन प्रवद्र्धनका लागि ४०–५० वटा स्टल राख्ने तयारी गरेका छौं।’
उनका अनुसार उक्त कार्यक्रमले ३० गतेदेखि सुरु हुने बिस्का जात्रालाई थप प्रवद्र्धन गर्नेछ।
नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमीलाई ऐतिहासिक सहरका रूपमा पर्यटन विकाससँग जोड्ने लक्ष्य रहेको बताए। उनले भने, ‘गत वर्ष मध्यपुर महोत्सव आयोजना गरेका थियौं । अब ‘गन्तव्य मध्यपुर’मार्फत पर्यटन प्रवद्र्धनलाई अझ अगाडि बढाउने योजना छ।’
उनले पछिल्ला वर्षहरूमा नगरको सरसफाइमा उल्लेख्य सुधार भएको पनि बताए। ‘स्थानीय र निजी क्षेत्रको सहयोगमा नगरमा सरसफाइको अवस्था राम्रो भएको छ । जात्राका बेला अझ व्यवस्थित बनाउन विशेष पहल भइरहेको छ,’ उनले भने ।
नगरपालिकाले बिस्का जात्रा मात्र नभइ अन्य सांस्कृतिक सम्पदाको संरक्षणमा पनि काम गरिरहेको जनाएको छ । ‘विगतमा सञ्चालन हुन छाडेका सांस्कृतिक नाच र परम्पराहरूलाई पुनः संरक्षण गरेका छौं । मूर्त र अमूर्त सम्पदाको जगेर्ना हाम्रो प्राथमिकता हो,’ नगरप्रमुख श्रेष्ठले भने ।
मध्यपुर थिमीमा बिस्का जात्रालाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन व्यापक तयारी गरिएको छ । यस वर्षको जात्राले सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ
