पाठ्यपुस्तक समयमै नपुगेको र आपूर्ति अभाव भयो भन्ने ‘भाष्य’ गलत हो : प्रवक्ता कुँवर
शैक्षिक सत्र २०८३ सुरु हुँदै : जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने संघारमा देशभरका विद्यालय र विद्यार्थीहरू नयाँ किताबको प्रतिक्षामा छन् । यही प्रतिक्षालाई समयमै पूरा गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक बिक्री वितरणलाई तीव्र बनाएको छ ।
चैत्र १६ गतेदेखि सुरु भएको पाठ्यपुस्तक बिक्री वितरण अहिले सातै प्रदेशमा फैलिएको छ । केन्द्रले सातै प्रदेशमा एकसाथ पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको जनाएको हो ।
केन्द्रका प्रवक्ता राम बहादुर कँुवरका अनुसार हाल सातवटा प्रदेश कार्यालय, नेपालगञ्जस्थित प्रादेशिक प्रेस र केन्द्रीय कार्यालय गरी नौं स्थानबाट पाठ्यपुस्तक विक्री वितरण भइरहेको छ ।
‘देशका सातैवटा प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरणको काम धमाधम सुरु गरिसकेको छ,’ उनले भने, ‘चैत्र १६ गतेबाट बिक्री वितरणको काम सुरु गरेका छौं । सातवटा प्रदेश कार्यालयहरु छन्, एउटा प्रादेशिक प्रेस नेपालगन्जमा छ र केन्द्र गरी नौं वटा ठाउँबाट धमाधम बिक्री वितरण गरिरहेका छौं ।’
उनका अनुसार शैक्षिक सत्र ०८३ का लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ सम्पन्न भइसकेको छ भने हालसम्म करिब ५० प्रतिशत वितरण भइसकेको छ । यस वर्ष करिब १ करोड ७० लाख पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ ।
‘छपाई कार्यपूर्ण रुपमा सकिएर बिक्री वितरणको कामपनि आधा भइसकेको छ । एक करोड सत्तरी लाख पाठ्यपुस्तक आवश्यक रहन्छ भन्ने हाम्रो अनुमान हो,’ कुवँर भन्छन् ।
तर किताब छाप्नु मात्र पर्याप्त हुँदैन । त्यो किताब दुर्गम गाउँको विद्यालयसम्म समयमै पुग्नु नै असली चुनौती हो ।
यसै रणनीतिअनुसार हुम्ला, डोल्पा, मुगुजस्ता दुर्गम जिल्लामा किताब पहिले नै पुगिसकेको छ । सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुलामा पनि पुस्तक वितरण सम्पन्न भइसकेको छ ।
‘हामीले हिमाली जिल्लालाई पहिलो प्राथमिकतामा राख्छौं,’ कुवर भन्छन्, ‘किनकि त्यहाँ पुग्न ढुवानी कठिन हुन्छ ।’
यस वर्ष शैक्षिक क्यालेन्डरमा परिवर्तन भएको छ । यसअघि वैशाख १ गतेदेखि सुरु हुने पठनपाठन शिक्षा मन्त्रालयको निर्णयअनुसार वैशाख १५ गतेदेखि सुरु हुने भएपछि भर्ना अभियान पनि दुई हप्ता सरेको छ । यसको प्रभाव पुस्तक बिक्रीमा परेको छ ।
बिक्रेता तथा विद्यालयहरूबाट तत्काल माग नआउँदा वितरण अपेक्षाअनुसार तीव्र हुन नसकेको प्रवक्ता कुँवरले बताए । यद्यपि, वैशाख १५ सम्म वितरण कार्य जारी रहने र त्यसपछि क्रमशः समाप्त हुनेछ ।
‘१५ गतेबाट पठनपाठन सुरु गर्ने निर्देशन छ । यसले भर्ना अभियान दुई हप्ता सरेको कारणले पाठ्यपुस्तक लिनको लागि बिक्रेताहरु पनि बिस्तारै आउने गरेको र स्कूलले पनि त्यति ताकेता नगरि राखेको अवस्थामा विक्री वितरणको काम धमाधम भइरहेको छ तर भनेजस्तो टार्गेट पूरा भएको छैन,’ उनले भने ।
जनक शिक्षाले हरेक वर्षझैं यसवर्ष पनि हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर वितरण गरेको जनाएको छ ।
उनका अनुसार पहाड र हिमालमा झण्डै ५० प्रतिशत विद्यार्थी भएपनि त्यहाँ ढुवानी जटिल हुन्छ । त्यसैले पहिले त्यहाँ पुस्तक पठाइन्छ । तराई र सहरी क्षेत्रमा माग बढी हुने भएकाले अन्तिम चरणमा वितरण गरिन्छ ।
‘हामीले बिक्री वितरण गर्दा सबैभन्दा पहिला हिमाली जिल्लालाई टार्गेट गर्छौं। त्यसपछि पहाडी जिल्लालाई त्यसपछि तराई र सहर केन्द्रित हुन्छ । अन्तिममा सहरमा र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक बिक्री वितरण गर्छौं,’ कँुवरले भने ।
सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी जिल्लामा पाठ्यपुस्तक ढिलो पुगेको भन्ने पछिल्लो चर्चालाई प्रवक्ता कुँवरले अस्वीकार गरेका छन् । उनका अनुसार देशका अधिकांश दुर्गम जिल्लामा पाठ्यपुस्तक समयमै पुगिसकेको छ र आपूर्ति अभावको ‘भाष्य’ मात्र निर्माण गरिएको हो ।
उनका अनुसार सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ र दार्चुला तथा कर्णालीका हुम्ला, डोल्पा र मुगुजस्ता जिल्लामा पाठ्यपुस्तक वितरण भइसकेको छ । कुवरले ती क्षेत्रमा किताब नपुगेको होइन, तर वितरण प्रक्रियामा केही प्राविधिक र व्यवस्थापकीय समस्या देखिएको जनाएका छन् ।
उनले भने, ‘पाठ्यपुस्तक नपुगेको अवस्था होइन, पुगेको छ तर केही स्थानमा समयमै नउठाइएको वा वितरण प्रक्रियामा ढिलाइ भएको हो ।’ उनका अनुसार विगत १० वर्षदेखि केन्द्रले नियमित रूपमा समयमै पुस्तक छपाइ र वितरण गर्दै आएको छ र यसवर्ष पनि सोही अनुसार काम भइरहेको छ ।
उनका अनुसार देशभरका सातवटा प्रदेश कार्यालयमार्फत पाठ्यपुस्तक भण्डारण गरी वितरण प्रणाली सञ्चालन गरिएको छ । साथै, १,२०७ अधिकृत विक्रेतामार्फत पुस्तक विद्यालय र स्थानीय तहसम्म पुर्याइने व्यवस्था रहेको छ ।
वितरण प्रक्रिया अनुसार विक्रेताहरू सम्बन्धित क्षेत्रमा दर्ता भएर केन्द्रबाट पुस्तक उठाउँछन् र ती पुस्तकहरू पालिका तथा विद्यालयसम्म पुर्याइन्छ । विद्यालयमा पुस्तक पुगेपछि बिल तथा भरपाईका आधारमा स्थानीय तहले भुक्तानी प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ ।
तर, केन्द्रीय प्रवक्ता कुवँरका अनुसार कतिपय स्थानमा पालिकाले समयमै बजेट विनियोजन नगर्ने तथा विक्रेताले समयमै पुस्तक नउठाउने जस्ता कारणले ढिलाइ देखिएको हो । ‘स्थानीय तहको बजेट व्यवस्थापन र विक्रेताको समयमै उठान नहुँदा प्राविधिक ढिलाइ भएको मात्र हो,’ उनले भने ।
यसैबीच, तराईका केही जिल्लामा भने अझै पनि केही पुस्तकहरू नउठाइएको अवस्था रहेको र केन्द्रसँग पर्याप्त मात्रामा पाठ्यपुस्तक मौज्दात रहेको पनि उनले बताए ।
केन्द्रले पछिल्ला वर्षहरूमा दुर्गमदेखि सुगमसम्म पाठ्यपुस्तक आपूर्तिलाई निरन्तर र नियमित बनाउँदै आएको दाबी गर्दै आगामी दिनमा वितरण प्रणाली अझ प्रभावकारी बनाइने जनाएको छ ।
कुँवरले विभिन्न स्थानीय तहले मातृभाषामा तयार गरेका पाठ्यपुस्तक छपाइका लागि समेत सहकार्य भइरहेको बताए ।
उनका अनुसार स्थानीय सरकारहरूले तयार पारेका मातृभाषाका पाठ्यक्रमअनुसारका पुस्तकहरू पनि छपाइ गरी वितरण गर्ने गरिएको छ ।
केन्द्रका प्रतिनिधिका अनुसार अहिले विभिन्न भाषिक समूदायका लागि आवश्यक पाठ्यपुस्तक उत्पादनमा समेत काम भइरहेको छ ।
‘स्थानीय तहहरूले भोट, थारु, नेवार लगायतका भाषामा पाठ्यक्रम तयार गरेर छपाइका लागि ल्याउने गरेका छन्, हामीले ती सबै पुस्तक छापेर उपलब्ध गराउँदै आएका छौँ,’ उनले बताए ।
उनका अनुसार मुस्लिम समुदायका लागिपनि छुट्टै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणका लागि अघिल्लो वर्षदेखि नै केही स्थानीय तहबाट अर्डर आएको र त्यसअनुसार छपाइ भइरहेको छ । स्थानीय तहले तयार पारेका पाठ्यक्रमअनुसार पुस्तक उत्पादन गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारेका छन् ।
उनका अनुसार कक्षा १ देखि १२ सम्मका सम्पूर्ण पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी केन्द्रको भएपनि केही कक्षाका पुस्तक निजी क्षेत्रलाई समेत छपाइका लागि अनुमति दिइएको छ । कक्षा १, २ र ४ का केही पाठ्यपुस्तक निजी क्षेत्रबाट पनि छपाइ भइरहेको उनले बताए ।
यद्यपि, केन्द्रको आफ्नो क्षमतामा कुनै कमी नभएको दाबी गर्दै सबै तहका पुस्तक छपाइ गर्न सक्षम रहेको उनले जनाए ।
‘हामीसँग १ देखि १२ सम्मकै पाठ्यपुस्तक छाप्ने क्षमता छ,’ कुँवरले स्पष्ट पारेका छन् ।
