सबको भलो हुने कर्म हुने पाए हुन्थ्यो
सेवा गर्दै दिनदुःखीको मर्न पाए हुन्थ्यो

धानको बाला झुलाएर बाँझा खेतहरु
भरिदिन पाए हुन्थ्यो भोका पेटहरु

Nepal Telecome

असहाय अनाथलाई बचाउन सकुँ
हाँसो छरि ओठमा आँसु पुछिदिन सकुँ

विरामीलाई औषधी खुवाउन पाऊँ
अकालमै जाने ज्यानलाई बचाउन पाऊँ

एउटा बस्त्र गरिबलाई सिलाइदिन पाए
धन्य ठान्थें यो जुनीलाई यति गर्न पाए

माथिका शब्दजस्तै गीतकार एसपी सापकोटा शब्दबाट नै परोपकारी मन लिएर जसरी आएका छन् वास्तविकतामा पनि उनी समाजसेवामा तल्लिन छन् । मान्छे जन्मिन्छ, मर्छ शास्वत्व कुरा हो तर बाँचुन्जेल सबैको सेवा गर्नु धर्म हो भन्ने सिद्धान्तमा रहेर अघि बढेका छन् गीतकार सापकोटा । गीतिलेखनमा दुई वर्षअघि मात्र कर्म एल्बम बजारमा ल्याएका उनले त्यसपछि फुटकर रुपमा गीतहरु रेकर्ड गर्दै आएका छन् । मायाप्रेमभित्र भन्दा पनि समाजसेवा र देशभक्ति गीतमा बढी अभ्यस्त हुने गर्छन् गीतकार सापकोटा ।

गीतका शब्दहरुलाई न्याय गर्न सक्ने गायकका रुपमा शिशिर योगीलाई छानेका गीतकार सापकोटाले संगीतकार बसन्त सापकोटा लिएका छन् । गीतको शब्द, संगीत र स्वरको त्रिवणी अत्यन्तै मार्मिक बनेको छ । पछिल्लो समय कोरोनाको कहरसँगै गीतले सन्देश पनि दिएको छ । मरेर लैजानु केही छैन, बाँचुन्जेल सबैको भलो गर्न सके पुण्य कमाइन्छ भन्ने सन्देश गीतभित्र रहेको छ ।