काठमाडौं । कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणले बैंकको नाफा उल्लेख्य रूपमा घटेको देखाएको छ। खुद ब्याज आम्दानीमा कमी र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेको हो।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।

Nepal Telecome

बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

बैंकको नाफामा दबाब सिर्जना गर्ने मुख्य कारण इम्पेयरमेन्ट चार्ज बढ्नु हो। सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले यस वर्ष १ अर्ब १७ करोड ९० लाख रुपैयाँ छुट्टाएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो रकम ६३ करोड रुपैयाँ मात्र थियो।

यद्यपि नाफा घटे पनि बैंकको निक्षेप र कर्जा विस्तार भने सकारात्मक रहेको छ। बैंकको कुल निक्षेप २ खर्ब ९३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

तर, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ३.४४ प्रतिशत रहेको एनपीएल यस वर्ष ४.०७ प्रतिशत पुगेको छ, जसका कारण कर्जा नोक्सानी व्यवस्थापनका लागि थप प्रबन्ध गर्नुपरेको बैंकले जनाएको छ।

यसैगरी, बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष २ अर्ब ८१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा यस वर्ष १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ।

नाफा र वितरणयोग्य मुनाफा दुवै घटेसँगै बैंकको लाभांश क्षमता १७.९८ प्रतिशतबाट झरेर ६.५४ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,८९३.६१ रुपैयाँ तथा तरलता अनुपात ३७.४५ प्रतिशत रहेको बैंकले जनाएको छ।