काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको लापरबाहीका कारण बालिकाको ज्यान गएको दाबी गरे । उनले घटनाको प्रारम्भिक चरणमै प्रहरीले सक्रियता नदेखाएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

अन्सारीका अनुसार बालिका हराएको जानकारी प्रहरीलाई गराए पनि तत्काल खोजीका लागि पर्याप्त प्रहरी परिचालन भएन । बालिका हराएको करिब ७२ घण्टापछि स्थानीयले शवबाट दुर्गन्ध आएको थाहा पाएपछि मात्रै प्रहरी र प्रहरीको कुकुर घटनास्थल पुगेको उनले दाबी गरे ।
उनले घटनामा सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न माग गरे । बालिका हराएपछि प्रहरीले एक, दुई, छ र १२ घण्टाको अवधिमा के–कस्तो खोजी तथा अनुसन्धान गर्‍यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

Nepal Telecome

‘प्रहरीले छिनछिनको घटनाको अपडेट दिन सक्नुपर्छ । स्थानीय वा अरूले शव फेला पारेपछि मात्रै कुकुर र प्रहरी पुगेर हामीले छानबिन गर्दै छौँ भन्नुको कुनै तुक छैन,’ अन्सारीले भने ।
उनले प्रारम्भिक चरणमै प्रहरी सक्रिय भएको भए घटना फरक हुन सक्ने भन्दै घटनापछि मात्रै अनुसन्धानमा पुगेको प्रहरीलाई जवाफदेही बनाउनुपर्ने बताए ।
सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमरामा लापरबाही र लेनदेन हुने गरेको आरोपसमेत लगाउँदै त्यसबारे गृह मन्त्रालयले गम्भीर छानबिन गर्नुपर्ने माग गरे ।