काठमाडौं । विगत दुई दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको काठमाडौँको सामाखुसीस्थित नवोदित कलेजमा अध्ययनरत विद्यार्थी सविन सुवेदीले बीबीएस प्रथम वर्षको परीक्षामा ८५.६ प्रतिशत अंक प्राप्त गर्दै नेपाल टपर बन्न सफल भएका छन् ।
शैक्षिक सत्र २०८२/०८३ को परीक्षामा सहभागी सुवेदीले उत्कृष्ट नतिजा हासिल गर्दै देशकै सर्वोत्कृष्ट विद्यार्थीको पहिचान बनाउन सफल भएका हुन् ।
यसअघि पनि वि.सं. २०७३/०७६ ब्याचका विद्यार्थी राजु भण्डारीले नेपाल टप गर्दै आफ्नो र कलेजको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल भएका थिए ।
सुवेदीको यो सफलताले व्यक्तिगत मेहनत, लगनशीलता र निरन्तर अध्ययनको महत्त्वलाई उजागर गरेको छ । उनको उत्कृष्ट उपलब्धिले नवोदित कलेजको शैक्षिक पहिचानलाई थप उचाइ दिएको कलेजका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी दिए ।
त्यस्तै, विद्यार्थीको मेहनत र कलेजको शैक्षिक वातावरणको उत्कृष्ट उदाहरण बनेको सुवेदीको सफलताले अन्य विद्यार्थीलाई समेत प्रेरणा प्रदान गर्ने कलेजका सहप्राचार्य जीवी अधिकारीले बताए ।
नेपाल टपर बन्न सफल सविन सुवेदीलाई कलेजले बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ ।


