काठमाडौं -इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली…’ शीर्षकमा । वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुवालाई सरप्राइज दिन गाएकी थिइन्, तर गीतले नेपाली संगीतकर्मीहरुसहित दर्शक तथा स्रोतालाई नै आश्चर्यमा पारिदियो । १५ वर्षीया गायिका आइशा डोटेलको चौतर्फी प्रसंशा भयो ।

उक्त गीतका शब्दहरु अष्ट्रेलियामै बसोबास गर्ने प्रगती देवकोटा न्यौपानेले रचना गरेकी थिइन् भने संगीत दिएका थिए प्रगती,आइशा तथा प्रशान्तले । भिडियो बनाएका थिए सञ्चारकर्मी दीपेश श्रेष्ठले । उक्त गीतको भिडियो यूट्युबमा झण्डै पाँच लाख पटक हेरिएको छ ।

Nepal Telecome

आईशा डोटेल, प्रगती देवकोटा न्यौपाने तथा दीपेश श्रेष्ठसहितको सोही समुहले यतिबेला अष्ट्रेलियाबाटै एउटा नयाँ गीत यूट्युबमार्फत सार्वजनिक गरेको छ, यसपटक पनि यो समुहले सांगीतिक क्षेत्रमा केही सरप्राइज दिएको अनुभव गरेको छ । यसपटक पनि प्रगती देवकोटा न्यौपानेको शब्दमा आइशा डोटेल तथा प्रमिला राईले एउटा गीत गाएका छन्- ‘लिसन टु मि’ शीर्षकमा ।

यो गीतलाई संगीतकर्मी सञ्जीव सिंहले संगीतबद्ध गरेका हुन् भने दिनेश श्रेष्ठले यसलाई संगीत संयोजन गरेका छन् । दीपेश श्रेष्ठले यो भिडियो निर्देशन गर्नुका साथै भिडियोको छायांकन तथा सम्पादन पनि उनैले गरेका छन् । भिडियोमा विशेष शेरचनको सह–निर्देशन छ । गीतकार प्रगति देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ ।

आमा–छोरीको हरेक दिनका क्रियाकलापहरु गीतमा चित्रण गरिएका छन् । हरेक आमाहरु आफ्ना किशोरी छोरीहरुप्रति चिन्तित भएजस्तै यो गीतमा पनि एउटी आमा उनकी छोरीप्रति चिन्तित छिन् । छोरीले गलत बाटो नसमातुन् भन्ने कुरामा आमा चिन्तित छिन् । आमा चाहान्छिन्, उनकी छोरीले उनका कुरा सुनुन् , सधैं सुरक्षित रहुन् तथा उज्वल भविष्यतर्फ अग्रसर हुन् । जबकि, छोरी आफैं स्वतन्त्र, आत्मनिर्भर तथा रमाइलो गर्न चाहन्छिन् । हुन पनि छोरी आत्मविश्वासले भरिएकी छिन्, आफ्नो बारेमा आफैं सोच्न सक्ने भएकी छिन् । आमाले आवश्यकताभन्दा बढी नै चिन्ता गरेको छोरीको बुझाइ छ । समग्रमा उक्त गीतले यही कुरा व्यक्त गर्दछ ।

विगत १६ वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार प्रगती देवकोटा न्यौपाने गायिका आइशाकी आन्टी हुन् । वेस्टर्न सिड्नी यूनिभर्सिटी तथा यूनिभर्सिटि अफ सनसाइन कोस्टमा अध्यापन गराउने प्रगती महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन् । उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन् । आइशालाई नेपाली गीत गाउन प्रेरित गर्ने प्रगति नै हुन् । एक वर्षअघि प्रगति र आइशाको परिवार क्याम्पिङ गएका थिए । त्यही बेला आइशाले अंग्रेजी गीत गाइन् । आइशाको गायनबाट प्रभावित प्रगतीले आफ्नी छोरीलाई संगीत सिकाइदिन अनुरोध गरिन् । नेपालमा हुँदा प्रगती गीत तथा कविता रचना गर्थिन् । छोरीलाई संगीत सिकाउन थालेकी आइशालाई उनले आफूले लेखेको नेपाली गीत अभ्यास गराउन थालिन् । ‘नेपाली भाषा सिकेर बुवालाई सर्प्राइज दिने भन्दै आइशाले प्रसस्त मिहिनेत गरेर नेपाल उच्चारण गर्न सकिन्, गीत नै गाउन सिकिन्’ प्रगतीले आईशा गायिका बन्नु पछाडिको प्रसंग कोट्याउँदै भनिन् ।