मुस्ताङ । रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केही दिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ।
केरुङ हुँदै चीनको तिब्बत क्षेत्रबाट ढोङमसेन र लिची नाका पार गरेर कोरला ल्याइएका नेपाली नागरिक तथा सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन्।
रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला नेपाल–चीन आवागमन तथा व्यापारका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको हो। यसले चीनमा रोकिएका नेपाली नागरिकलाई स्वदेश फर्काउन तत्काल राहत पुगेको मात्र होइन, मुस्ताङको कोरला नाकालाई भविष्यमा व्यापार, पर्यटन तथा अन्तर्राष्ट्रिय आवागमनको रणनीतिक मार्गका रूपमा विकास गर्ने सम्भावनासमेत उजागर गरेको छ।
नुन–अन्न व्यापारको पुरानो मार्ग
कोरला नाका नयाँ मार्ग भने होइन। स्थानीय इतिहासकारहरूका अनुसार राणाकालदेखि प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्गका रूपमा यही क्षेत्र प्रयोग हुँदै आएको थियो। त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो।
तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही नुन–अन्न व्यापारले मुस्ताङको आर्थिक तथा सामाजिक जीवनलाई दशकौँसम्म चलायमान बनाएको थियो।
तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै परम्परागत व्यापार प्रणाली क्रमशः कमजोर बन्दै गयो। त्यसपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्नुका साथै पुरानो व्यापारिक गतिविधिमा पनि ठूलो परिवर्तन आयो।
सीमा घटनादेखि व्यापारको रूपान्तरणसम्म
सन् १९६० जुन २८ (वि.सं. २०१७ असार १५) मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको ऐतिहासिक अभिलेखमा उल्लेख छ।
चिनियाँ पक्षले त्यतिबेला नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही गरिएको जनाएको थियो। नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको विवरणसमेत पाइन्छ।
यसअघि २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख छ। त्यसपछिका राजनीतिक तथा सुरक्षा घटनाक्रमसँगै मुस्ताङको पुरानो व्यापारिक संरचना क्रमशः कमजोर हुँदै गयो।
व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम तथा तराईका बजारमा व्यापार विस्तार गरे। कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे, जुन पछि थकाली भान्साघर, होटल, लज हुँदै आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए।
सडक पुगेपछि बढ्यो सम्भावना
पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास हुँदै आए पनि पूर्वाधारको अभाव तथा राजनीतिक उतारचढावका कारण कामले अपेक्षित गति लिन सकेन।
२०६२/६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थाले। त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीले चीनसँग जोडिने उत्तरी मार्गहरूको महत्त्व अझ बढायो।
त्यसयता सरकारले कोरला नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ। अहिले पनि सडक सुधारका काम विभिन्न चरणमा अघि बढिरहेका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्सेसम्म भ्रमण गरेका थिए।
उनका अनुसार कोरला हुँदै आवागमन थप विस्तार हुन सके माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार तथा सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्छ।
नेपालका उत्तरी सीमामा चीनसँग जोडिएका तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ–आफ्नै ऐतिहासिक महत्त्व छ। तर रसुवाको बाढी–पहिरोपछि रसुवागढी बन्द हुनु, तातोपानी नाका पनि प्रभावित हुनु र त्यसपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्व थप स्पष्ट पारेको छ।
एक समय नुन र अन्नको व्यापार बोक्ने यही मार्ग अहिले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ। यसले तत्कालीन संकट व्यवस्थापनमा राहत पुर्याउनुका साथै भविष्यमा नेपाल–चीन व्यापार, पर्यटन तथा अन्तर्राष्ट्रिय आवागमनको भरपर्दो मार्गका रूपमा कोरला नाकाको सम्भावनालाई समेत नयाँ ढंगले उजागर गरेको छ।



