" />
नेपालमा चलचित्र पुरस्कारहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । चलचित्र पुरस्कारको प्रतिष्ठा पनि बढ्दै गइरहेको छ । संसारमा कुनै पनि विधामा पुरस्कारको ठूलो महत्व रहेको हुन्छ । चलचित्र जगतमा पनि छ । विश्वमा सबैभन्दा प्रतिष्ठित चलचित्र पुरस्कार भनेको “ओस्कार” हो । अहिले “गोल्डेन ग्लोब ”लाई पनि “ओस्कार” कै समान दर्जामा राख्ने गरिएको छ । बलिउडको कुरा गर्ने हो भने “फिल्मफेयर अवार्ड” लाई सर्वोच्च स्थानमा राखिएको छ । अहिले बलिउडमा आइफा अवार्ड स्क्रिन अवार्ड, स्टारडस्ट अवार्ड लगायत थुप्रै अन्य अवार्डहरु पनि थपिएको छ । नेपालमा पनि त्यस्तै भइरहेको छ । अहिलेका वर्षहरुमा चलचित्र जगतलाई लक्ष्यित गरेर पुरस्कार प्रदान गर्ने चलन बढ्दै गईरहेको छ । तर ती मध्ये कतिपय पुरस्कारहरु दीगो भएको देखिंदैन । नेपाली चलचित्र जगतमा पुरस्कारको ईतिहास केलाउने हो भने सबैभन्दा पहिलो पटक प्रदान गरिएको चलचित्र पुरस्कार भनेको विशाल बजार लायन्स ल्कबको आयोजनामा सम्पन्न “नेपाली चलचित्र पुरस्कार २०४३” हो । २०४३ बैशाख १७ गते प्रज्ञा प्रतिष्ठानको पे्रक्ष्यालयमा सम्पन्न सो पुरस्कार समारोहमा “कान्छी” चलचित्रले सर्वोत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल भएको थियो । कला जगतका मुर्धन्य व्यक्तित्व लैनसिंह बाङ्गदेलको संयोजकत्वमा गठन गरिएको निर्णायक मण्डलले सो पुरस्कार समारोहमा सर्वोत्कृष्ट निर्देशकको रुपमा नीर शाह (वासुदेव) , अभिनेता शिव श्रेष्ठ (कान्छी), अभिनेत्री शर्मिला शाह (कान्छी), कथाकार विजय बहादुर मल्ल (बदलिंदो आकाश), पटकथाकार बी.एस.थापा, संगीतकार गोपाल योञ्जन, छायाङ्कार श्याम मोहन श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो । लायन्स क्लबले प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको यो पुरस्कार समारोह दोस्रो पटक भने आयोजना हुन पाएन ।
कुनै पनि खालको पुरस्कार अक्सर विवादमा पर्नु नौलो हैन यो पुरस्कार पनि विवादमा प¥यो । त्यत्तिबेला विभिन्न आठ विधामा सर्वोत्कृष्टताको पुरस्कार जित्न सफल “कान्छी” का निर्देशक बी.एस. थापालाई भने निर्देशन विधामा पुरस्कार नदिएपछि उनलाई पाखामा पारेकोे कुरामा ठूलै विवाद चर्केको थियो । यसरी पहिलो गाँसमै ढुङ्गा भने झैं पहिलो आयोजना नै विवादमा अल्झिनु परेको कारणले गर्दा विशाल बजार लायन्स क्लबले चलचित्र पुरस्कारलाई निरन्तरता दिनसकेन । विशाल बजार लायन्स क्लबमा त्यतिबेला अध्यक्ष भरतलाल श्रेष्ठ हुनुहुन्थ्यो र उहाँ “कामना”मासिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठका पिता हुन् । स्वयं पुष्करलाल श्रेष्ठ पनि उक्त क्लबसंग आबद्ध व्यक्ति हुनु भएकोले सो पुरस्कार कार्यक्रममा उहाँको सक्रिय सहभागिता रहेको थियो । पुरस्कार आयोजनामा यसरी ठूलै विवाद भएको देखेपछि उहाँले त्यतिबेला आयोजना गर्ने भनि योजना बनाउनु भएको कामना अवार्ड गर्ने बिचार पनि त्याग्नु भयो । तर अहिले कामना र सि जि ईन्टरटेण्टमेण्टको सहकार्यमा कामना फिल्म अवार्ड आयोजना गरींदै आएकोछ । विशाल बजार लायन्स क्लबपछि चलचित्र जगतमा पुरस्कारकोे परम्परा थालनीको प्रयास गर्ने दोस्रो संस्था भनेको नेपाल चलचित्र संघ हो । नेपालको चलचित्र जगतमा यो नै सबैभन्दा जेठो संस्था हो । र त्यत्तिबेला चलचित्र जगतको यो एक मात्र आधिकारीक संगठनको रुपमा रहेको थियो । नेपाल चलचित्र संघको स्थापना वि.सं.२०१३ मै भई सकेको थियो तर पनि यो संस्थाले वि.सं. २०४५ तिर नेपाल चलचित्र संघले आफ्नो स्थापना कालको २५ वर्ष पुरा भएको अवसर भन्दै एउटा बृहत चलचित्र पुरस्कार समारोहको आयोजना गरे । यो कार्यक्रम विराटनगरमा आयोजना गरिएको थियो । राजधानी बाहिर चलचित्र पुरस्कारको आयोजना गरेको यो नै पहिलो अवार्ड समारोहको रुपमा लिनु पर्दछ ।
यी दुई पुरस्कार समारोहहरु पछि अभिनेता कृष्ण मल्लको संस्था “अभियान” को आयोजनामा “सान मिगेल फिल्म अवार्ड”को थालनी भयो । “अभियान”ले चलचित्र क्षेत्रमा मात्र नभई टेलिभिजन क्षेत्रमा पनि “शिखर साँझ तथा टेलि फिल्म पुरस्कार समारोह” को समेत आयोजना गरी मनोरञ्जन एवं कला जगतमा एउटा बेग्लै कीर्तिमान कायम ग¥यो । २०४५ मंसीर ४ गते सम्पन्न दोस्रो वर्षको पुरस्कार पछि टेलिभिजन क्षेत्रमा अवार्ड कार्यक्रम नै भएन भने केही वर्ष अगाडि “टाफन टेलि अवार्ड” को आयोजना गरिएको थियो । यसरी बाइस वर्षपछि आयोजित यो पुरस्कार कार्यक्रमलाई टेलि अवार्ड नभई झेली अवार्डको आरोप लगाइ बहिष्कार समेत गर्नेहरु पनि देखिए । आलोचनाको यो प्रहारले गर्दा यो अवार्डले पनि निरन्तरता पाउन सकेन ।
पुरस्कार आयोजनाहरुमा यसरी चर्किने गरेको विवाद कै कारण नेपाली चलचित्र जगतमा स्थापित वा आरम्भ गरिएको कुनै पनि पुरस्कार दीगो रहन नसकेको देखिन्छ । पहिलो पटक वि.सं. २०४५ साल मै पुरस्कार समारोह गरेको संस्था नेपाल चलचित्र संघलेपछि २०५४ सालतिर “नेपाल मोशन पिक्चर अवार्ड तथा चलचित्र महोत्सव”को आयोजना गरी पुनः एकपटक पुरस्कारको परम्परा बसाउने प्रयत्न गरे । यसमा वि.सं. २०२२ सालमा प्रदर्शित “आमा” देखि वि.सं. २०५४ को अन्त्यसम्ममा प्रदर्शित १२५ वटा चलचित्रहरु मध्येबाट उत्कृष्ट २५ वटा चलचित्र छनौट गरी प्रतित्पर्धात्मक पुरस्कार प्रदान गरिएको थियो । नेपाल चलचित्र संघले वि.सं. २०५८ सम्ममा चारवटा पुरस्कार समारोह आयोजना गर्न सफल रहे । तर सालैपिच्छे विवाद चर्किंदै गएपछि पाँचौं पटक नेपाल चलचित्र संघले पुरस्कार आयोजना स्थगित गरे । त्यसपछी चारपाँच वर्ष अगाडी संघले अमेरिकामा नेम्पा पपुलर अवार्ड आयोजना गरेको थियो भने त्यस पछी गर्न सकेको छैन ।
नेपाली चलचित्र जगतका पुरस्कार समारोहहरुको चर्चा गर्दा चलचित्रकर्मि मोज के.सि.को प्रयासमा “अभियान काठमाण्डौं” ले आयोजना गर्ने गरेको “कलिउड सिने अवार्ड”को उल्लेख पनि सान्दर्भिक देखिन्छ । यी पुरस्कारहरुपछि लक्स फिल्म अवार्ड, नेशनल भिजन बिजी अवार्ड शिर्षकका पुरस्कार कार्यक्रमहरु पनि एक दुई आयोजनपछि हराउँदै गएका पुरस्कारहरु हुन् । अहिले नेपाल चलचित्र प्राविधिक संघ २०५६ को आयोजनामा विगत दसबा¥ह वर्ष अगाडिदेखि निरन्तर रुपमा पुरस्कार कार्यक्रम गर्दै आइरहेको छ ।
“छाँयाछवि” को आयोजनामा थालिएको “फिल्मीखबर डिजिटल फिल्म अवार्ड”पनि निरन्तर रुपमा भईरहेको फिल्म अवार्ड हो । यस्तैगरी एक दशक अगाडि “बक्स अफिस” पत्रिकाको तत्वाधानमा “बक्स अफिस फिल्म अवार्ड २०६७” को आयोजना दुबईमा सम्पन्न गरिएको थियो । विदेशी भुमिमा आयोजना गरिएको त्यो नै पहिलो नेपाली चलचित्र पुरस्कार समारोह थियो । हालका वर्षहरुमा बक्स अफिस अवार्ड विभिन्न देशहरु आयोजना गर्दै आएका छन् ।
यी पुरस्कारहरुको लगायत अनलाईन पत्रिकाहरुले पनि चलचित्र जगतमा पुरस्कार वितरण समारोहको आयोजना गरेर आफ्नो उपस्थिति जनाउन थालिसकेको छ । केही वर्ष अगाडीमात्र “फिल्मीखबर डट कम”को आयोजनामा ओफा फिल्म अवार्ड २०७०आयोजना गरेको थियो भने यसभन्दा अघि “मेरो सिनेमा डट कम” ले पनि एकपटक यस्तो पुरस्कार समारोह गरीसकेको छ ।
निजी संस्थाहरुले यसरी पुरस्कार दिन थालेको धेरै वर्ष भईसकेको छ । तर राज्यले यसतर्फ द¥िहलो पाइला चाल्न सकेको छैन । राज्यको आधिकारिक चलचित्र निकाय भनेको चलचित्र विकास बोर्ड हो । बोर्डले वि.सं. २०६२ मा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार समारोहको आयोजना गरेको थियो ।
त्यसपछि वि.सं. २०६३ र २०६४ साल पनि चलचित्र बिकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारको आयोजना गरेको थियो भने वि.सं. २०६५ मा हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कार पछी गएर २०६५ र २०६६ सालको गरी एकैपटक अनि २०६७ साल असार १६ गते सम्पन्न गरिएको थियो । त्यसपछी ०६७ , ०६८ , ०६९ र ०७० सालको गरी चारै वर्षको पुरस्कार एकैपटक २०७१ असार १६ गतेका दिन राष्ट्रपति भवनमा सम्पन्न गरियो । वि.सं. ०७१ सालको राष्ट्रिय चलचित्र पुरस्कार समारोह ०७२ सालको श्रावण १२ गते राष्ट्रपति भवनमा सम्पन्न गरिएको थियो भने ०७३ सालको पुरस्कार असार १६ गते राष्ट्रपतिमा सम्पन्न भएको थियो भने त्यसपछी ०७३ , ०७४ र ०७५ सालको पुरस्कार ०७६ श्रावण महिनामा राष्ट्रपति भवनमा सम्पन्न गरियो । नेपाल सरकारबाट प्रदान गरीने राष्ट्रिय चलचित्र पुरस्कार वर्षैपिच्छे नभई दुईतीन वर्षको एकैपटक हुँदै आएको छ ।
प्छिल्ला वर्षहरुमा चलचित्र क्षेत्रमा पुरस्कार र पुरस्कार दिने संस्था संस्थाहरु दिनदिनै बढ्न थालेको छ । यसैक्रममा अग्रज चलचित्र व्यवसायी उद्धव पौड्यालको सकृयतामा एन एफ डि सि नेशनल फिल्म अवार्ड विगत केही वर्षदेखि आयोजना गरिंदै आईरहेकोमा हाल भने स्थगीत अवस्थामा रहेको छ । नेपालको चलचित्र जगतमा अद्वितिय योगदान पुयाउनु भएका उल्लेखनीय व्यक्तित्वहरुको नाममा नै पुरस्कार स्थापना गरिएकोले यो पुरस्कारलाई चलचित्र जगतमा सकारात्मक पक्षको रुपमा लिइएको छ भने जसजसको नाममा पुरस्कार स्थापना भएको छ तिनै व्यक्तित्वबाट पुरस्कार प्रदान गर्ने परम्पराको पनि आरम्भ गर्नुलाई एउटा उदाहरणीय प्रयासको रुपमा लिइन्छ । यस्तैगरी सञ्चारकर्मि दिनेश डि.सी.को सकृयतामा एलजि सिने सर्कल अवार्ड पनि यो क्षेत्रमा देखिन थालेको अवार्ड कार्यक्रम हो ।
अग्रज अभिनेता कृष्ण मल्लको सकृयतामा अमेरिकाको विभिन्न राज्यहरुमा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गरिंदै आएको छ भने जापान स्थित सुर्य ईन्टरटेंटमेंटको तत्वावधानमा जापान मै सुर्य ईन्टरनेशनल फिल्म अवार्ड आयोजना हुन थालेको छ । विदेशी भुमिमा नै आयोजना गर्ने लक्ष्यका साथ चलचित्र निर्देशक ई.सं. २०१४ सालमा हङ्गकङ्गबाट थालनी गरिएको ईन्फा अवार्ड भने एकपटकमात्र आयोजना गरिएको देखियो भने पछिल्लो समयमा हङ्गकङ्ग मै बसोबास गर्दै नेपालीहरुको संस्था एभरेष्ट ईन्टरटेंटमेंट हङ्गकङ्गको आयोजनामा एभरेष्ट ईन्टरनेशनल नेपाली फिल्म अवार्ड आयोजना गर्ने घोषणा भएकोमा र पहिलो वर्ष सन् २०१८ का नेपाली चलचित्रहरुलाई पुरस्कार प्रदान गर्ने उद्देश्य लिएको यो अवार्ड त्यतिबेला हङ्गकङ्गको राजनैतिक परिस्थिति प्रतिकुल रहेको कारण केही समयकालागि स्थगित गरिएको थियो भने दुई वर्ष जति कोरोना प्रकोपको कारण हुन नसकेको अवस्था छ ।
नेपालमा म्युजिक भिडियोको निर्माणले तिब्रता लिन थाले पछि यो क्षेत्रलाई समेटेर पुरस्कार प्रदान गर्ने कार्यक्रमहरु धेरै हुन थालका छन् । इपिक नेपाल म्युजिक अवार्ड , ज्योति म्युजिक अवार्ड , नाट्यश्वर म्युजिक अवार्ड , सगरमाथा म्युजिक अवार्ड र नेपालको पहिलो समावेशी म्युजिक अवार्ड भनेर चर्चा गरिएको निम म्युजिक अवार्ड लगायत म्युजिकखबर म्युजिक अवार्ड निरन्तर रुपमा भईरहेका अवार्डहरु हुन् भने म्युजिकखबर म्युजिक अवार्ड को प्रतिष्ठा दिनदिनै बढ्दै गईरहेको छ ।
यसरी नेपाली चलचित्र र म्युुजिक भिडियोलाई समेटेर विभिन्न पुरस्कारहरु प्रदान गरिंदै आएको छ भने ती मध्ये कतिपय पुरस्कारहरु नियमित हुन सकेको देखिंदैन । ती पुरस्कारहरु किन नियमित रुपमा हुन सकेन भन्ने कुरा पनि यहाँनेर मनन योग्य छ ।