ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१, कालीखोला क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी समुद्र सतहदेखि करिब ४ हजार मिटर उचाइमा रहेको आकर्षक हिमाली गन्तव्य हो। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस क्षेत्रमा गर्मीयामसँगै विभिन्न प्रजातिका रंगीचंगी फूलहरू फुल्न थालेपछि पोखरीको सौन्दर्य थप मनमोहक बनेको छ।

विशेषगरी पोखरी वरिपरि फुलेका कस्तुरी झार प्रजातिका गुलाबी फूलहरूले हरियाली हिमाली भूभागलाई रंगीन बनाएका छन्। गुलाबी फूलसँगै नीलो तथा बैजनी रंगका अन्य फूलहरू समेत फुल्दा तिम्बुङ पोखरीको दृश्य झनै आकर्षक देखिएको छ।

Nepal Telecome

हिमाल, पोखरी, हरियाली र रंगीन फूलहरूको अनुपम संयोजनले तिम्बुङ क्षेत्रलाई प्रकृति अवलोकन, फोटोग्राफी तथा प्राकृतिक अध्ययनका लागि आकर्षक गन्तव्य बनाएको छ। फूल फुल्ने मौसममा यहाँ पुग्ने पर्यटक तथा प्रकृतिप्रेमीहरू रमणीय दृश्यमा मोहित हुने गरेका छन्।

धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको अनुभव लिन तिम्बुङ पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनसमेत बढ्दो क्रममा रहेको छ। पोखरीसम्मको यात्रा चुनौतीपूर्ण भए पनि बाटो र गन्तव्यमा देखिने हिमाली दृश्य तथा फूलहरूको सौन्दर्यले यात्राको थकान बिर्साइदिने गर्छ।

कस्तुरी झारलगायत विभिन्न प्रजातिका फूलहरूले तिम्बुङ पोखरी क्षेत्रको जैविक विविधता र प्राकृतिक सम्पदालाई थप उजागर गरेका छन्। हिमाली प्रकृतिको अनुपम सौन्दर्य बोकेको तिम्बुङ पोखरी पछिल्लो समय प्रकृतिप्रेमी तथा पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।