काठमाडौं । गायक तथा संगीतकार हेमन्त शर्माको नयाँ गीत ‘दिन दुई गुना’ सार्वजनिक भएको छ । प्रेमी–प्रेमिकाबीचको प्रेम, एकअर्काप्रतिको आत्मीयता र सम्झनालाई समेटिएको गीतमा हेमन्त शर्माकै शब्द तथा संगीत रहेको छ । गीतमा उनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् भने संगीत संयोजन कृष्ण विकले गरेका छन् ।
नयाँ–नयाँ गीतमार्फत निरन्तर सांगीतिक उपस्थिति जनाउँदै आएका हेमन्तले करिब डेढ महिनाको अन्तरालमा नयाँ गीत श्रोतामाझ ल्याएका हुन् । गीतलाई नियमित रूपमा सार्वजनिक गर्नुको आफ्नो दृष्टिकोणबारे उनी भन्छन्, ‘गीतले छल्छ, कहिलेकाहीँ चल्छ ।’ अर्थात् छोटो–छोटो अन्तरालमा नयाँ सिर्जना सार्वजनिक गर्दा श्रोता तथा दर्शकमाझ आफ्नो सांगीतिक उपस्थिति कायम रहने उनको धारणा छ । यसअघि उनले डेढ महिनाअघि ‘मायामा के राम्रो’ बोलको गीत सार्वजनिक गरेका थिए ।
‘दिन दुई गुना’को भिडियोमा दुई पुस्ताका जोडीबीचको प्रेम, रमाइलो नोकझोक र भावनात्मक सम्बन्धलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा बुद्धि तामाङ ‘हैट’, एरोन थापा मगर, चाहना राना मगर र सुस्मा सुब्बाको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा कलर संयोजन अमृत चापागाईंले गरेका छन् ।
प्रेमिल शब्द, कर्णप्रिय संगीत र दुई पुस्ताको प्रेमकथालाई समेटिएको ‘दिन दुई गुना’ले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।


