काठमाडौं । गीतकार, अनुसन्धानकर्ता तथा सञ्चारकर्मी प्रकाशबाबु थापा अमेरिकाको न्यूयोर्कमा सम्मानित भएका छन्। सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै न्यूयोर्क राज्यको एसेम्ब्ली डिस्ट्रिक्ट–३० का सदस्य स्टेभन रागाले उनलाई विशेष सम्मानपत्र (Citation) प्रदान गरेका हुन्।

Nepal Telecome

नोभेम्बर २३, २०२६ मा प्रदान गरिएको उक्त सम्मान थापा पीएचडी अध्ययन तथा अनुसन्धानका लागि अमेरिका पुगेका बेला प्राप्त गरेका हुन्।

नेपाल टेलिभिजन तथा न्यूज २४ टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरिसकेका थापा गीतसङ्गीत, साहित्य, अनुसन्धान, सञ्चार तथा युवा सशक्तीकरणका क्षेत्रमा क्रियाशील छन्। उनी हाल युनिभर्सल पिस फेडेरेसन (UPF) इन्टरनेसनलका दक्षिण एसिया क्षेत्रीय निर्देशकका रूपमा कार्यरत छन्।

थापाले सन् २००६ देखि २००८ सम्म अमेरिकाका करिब ४५ राज्यमा पुगेर अन्तर्राष्ट्रिय नेतृत्व विकास कार्यक्रमअन्तर्गत स्वयंसेवा गरेका थिए। करिब १६ वर्षपछि पीएचडी अध्ययन तथा अनुसन्धानका लागि अमेरिका पुगेका उनलाई कला, संस्कृति, सञ्चार र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको हो।

गीतकारका रूपमा पनि स्थापित थापाले म्युजिक खबर म्युजिक अवार्डमा सर्वोत्कृष्ट गीतकारको अवार्डसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्। उनको ‘प्रकाशपञ्ज’ गीतिसङ्ग्रह प्रकाशित छ। ‘एउटा फूल’, ‘तिमीसम्म आउँदैछु म’, ‘कान्छी कान्छी’ र ‘एकै पल्टमा’ लगायतका उनका गीत श्रोतामाझ सार्वजनिक भइसकेका छन्।

सञ्चारकर्म, साहित्य सिर्जना, गीतसङ्गीत र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउँदै आएका थापाको योगदानलाई न्यूयोर्कमा गरिएको यस सम्मानले अन्तर्राष्ट्रियस्तरमा थप पहिचान दिलाएको छ।