काठमाडौं। निर्देशक, कोरियोग्राफर तथा कलाकार दीप कोके गुरुङको ४३ वर्षको उमेरमा निधन भएको छ । कार्तिक २९ गते शरीरमा विसञ्चो भएको महसुस गर्दै बसुन्धरास्थि चिरायू हस्पिटलमा उपचारका लागि भर्ना हुनुभएका निर्देशक गुरुङको उपचारको क्रममा आज विहान ९ः४० बजे निधन भएको अस्पतालले जनाएको छ । उहाँको निमोनियाको कारण निधन भएको उपचारमा संलग्न रहेका डाक्टरहरुले बताएका छन् । फोक्सो तथा मुटुमा समस्या देखिएको र रक्तचाप घटेको कारण दुई दिनसम्म आइसियूमा राखेर उपचार गरिएको अस्पतालले बताएको छ ।
निर्देशक, कोरियोग्राफर तथा कलाकार दीप कोके गुरुङको असामयिक निधनले नेपाली कला तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
दीप कोके गुरुङ केवल एक कुशल निर्देशक, कोरियोग्राफर तथा कलाकार हुनुहुन्थ्यो। उहाँले ‘नैना’, ‘जूनकिरी’ जस्ता चलचित्र निर्माण तथा निर्देशन गर्नुभएको थियो। त्यसैगरी हजारौँ म्युजिक भिडियोमा निर्देशन तथा कोरियोग्राफी गर्दै नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। विशेषगरी मौलिक कौडा, सालैजो, सोरठी तथा ठाडोभाकाजस्ता नेपाली लोकसंस्कृतिमा आधारित गीत तथा नृत्यमा आफ्नो कला प्रस्तुत गर्दै मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँसँगको सहकार्य र बिताएका अविस्मरणीय पलहरू सधैँ स्मरणमा रहनेछन्। निर्देशक तथा कलाकारका रूपमा मात्र नभई असल मित्रका रूपमा पनि उहाँको अभाव खड्किरहनेछ भन्दै धेरै कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।
उहाँ गोरखा सांस्कृतिक समाजको उपाध्यक्ष एवं तमु कलाकार संघको सांस्कृतिक विभाग प्रमुख हुनुहुन्थ्यो । दीप फिल्म्स् प्रोडक्सन ग्रुप सञ्चालन गर्दै आउनुभएका गुरुङले निर्देशन गरेका गीतहरु भागौंला त्रिशुली तरेर, माइली, मुग्लिन पुल तरी, देउरालीलाई फूलपाती धजा लगायतका हजार भन्दा बढी म्युजिक भिडियो रहेका छन् ।


