काठमाडौं । मादलको मिठो ताल, खैँजडीको झन्कार अनि मौलिक खेली र रोइला भाकाको रौनकबीच काठमाडौँमा आयोजित “खेली रोइला दोहोरी प्रतियोगिता” शनिबार भव्यताका साथ सम्पन्न भएको छ। “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिले उक्त सांस्कृतिक उत्सवको आयोजना गरेको हो।

Nepal Telecome

उपत्यकाका विभिन्न १२ समूहबीच भएको अत्यन्तै रोचक, घम्साघम्सीपूर्ण र प्रतिस्पर्धात्मक सांगीतिक भिडन्तमा आयोजक लाजिम्पाट समितिका सरोज सिम्खडाले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थानको उपाधि चुम्न सफल भए। यस्तै, लाजिम्पाट समितिकै सविन आचार्यले दमदार प्रस्तुतिसहित द्वितीय स्थान हासिल गरे भने कमलादी समितिका निशान्त विक तृतीय र नयाँ समितिकी जमुना सुनारले सान्त्वना स्थान प्राप्त गर्दै दर्शकको मन जिते।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गायकको उपाधि ललितपुर समितिका मानव रावत क्षेत्रीले हात पारे भने उत्कृष्ट गायिकातर्फ अनामनगर समितिकी सबिता परियार सम्मानित भइन्। प्रतिस्पर्धी कलाकारहरूले आफ्नो गायन कला, शब्द चयनको सिर्जनशीलता र मौलिक दोहोरी शैलीमार्फत उपस्थित दर्शक तथा निर्णायक मण्डललाई मन्त्रमुग्ध बनाएका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४१ हजार रुपैयाँ, द्वितीय हुनेलाई ३१ हजार रुपैयाँ, तृतीय हुनेलाई २१ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेलाई ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट गायक र उत्कृष्ट गायिकालाई जनही २ हजार ५०० रुपैयाँ नगद पुरस्कारले सम्मान गरियो।

लाजिम्पाट समितिकी अध्यक्ष सपना रोकाको सभापतित्व तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पशुपति शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक खड्का, प्रथम उपाध्यक्ष सुवास केसी, उपाध्यक्ष रविन लामिछाने, महासचिव शिव हमाल, केन्द्रीय कोषाध्यक्ष जुना श्रीष मगर, सचिव सुजन लम्साल, केन्द्रीय सदस्यहरू अर्जुन थापा मगर, मदन परियार तथा बालचन्द्र बराल लगायतका अग्रज स्रष्टाहरूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी संस्कृतिविद् डा. तुलसीराम खनाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछाने, समितिका सल्लाहकार लक्ष्मण मल्ल, उपत्यका समन्वय समिति अन्तर्गतका १० वटै समितिका अध्यक्ष तथा प्रतिनिधि र विभिन्न क्षेत्रका कलाकारहरूको बाक्लो सहभागिताले कार्यक्रमलाई थप रौनक थपेको थियो।

प्रतियोगितालाई निष्पक्ष र मर्यादित बनाउन प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल गठन गरिएको थियो। निर्णायक समितिमा केन्द्रीय उपाध्यक्ष रविन लामिछाने, महासचिव शिव हमाल, कोषाध्यक्ष जुना श्रीष मगर र केन्द्रीय सदस्य सुजन लम्साल रहेका थिए भने खेली गीतका अनुसन्धानकर्ता तथा संस्कृतिविद् डा. तुलसीराम खनाल जुरी निर्णायकका रूपमा रहेका थिए।

लाजिम्पाट समितिका सचिव कृष्ण विश्वकर्माले रमाइलो ढंगले सञ्चालन गरेको कार्यक्रममा समितिका उपाध्यक्ष सविन आचार्यले स्वागत मन्तव्य राखेका थिए। उनले यस्ता प्रतियोगिताले नेपाली मौलिक लोकसंस्कृतिको जगेर्ना गर्नुका साथै नयाँ प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरे।
आधुनिकता र बदलिँदो सांगीतिक प्रवृत्तिको प्रभाव बढिरहेका बेला नेपाली लोक संगीतको मौलिक पहिचान बोकेको खेली र रोइला भाकाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्न यस प्रतियोगिताले कोशेढुंगाको काम गरेको सहभागीहरूले बताए।

कार्यक्रमको समापन गर्दै आयोजक समितिकी अध्यक्ष सपना रोकाले प्रतियोगितालाई ऐतिहासिक र भव्य रूपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, निर्णायक, प्रतिस्पर्धी कलाकार, विभिन्न समिति तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले आगामी दिनमा पनि यस्ता मौलिक कार्यक्रमलाई निरन्तरता दिँदै लोकसंस्कृतिको संरक्षण र नवप्रतिभाको प्रोत्साहनमा समिति अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाएकी छिन्।