काठमाण्डौँ । नेपालमा डान्सिङ रियालिटी शो डान्स मास्टर लिल चाम्स सुरु हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

विशाल भण्डारीको निर्देशनमा हुने शो थ्रि प्रोडक्सनले नेपा प्रोडक्सनसँगको सहकार्यमा निर्माण गर्न लागेको हो। सफल रियालिटी शो कमेडी च्याम्पियनका निर्देशकसमेत रहेका भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताए। राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ, उनले भने।

Nepal Telecome

यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेने छिन् । जजको रूपमा भने डान्स इन्डिया डान्स लिल चाम्सकी विजेता तेरिया फौजा मगर, डान्स प्लस सिजन २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहने छन्।

शोमा होस्टको रूपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला छन्।

पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो अर्गानिक रियालिटी शो सुरु गर्ने हिम्मत जुटेको निर्माता अधिकारीले बताइन्। ुपहिलो रियालिटी शो कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस शोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ,ु उनले भनिन्।

डान्स मास्टर लिल चाम्स कमेडी च्याम्पियन सिजन-२ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रूपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए ।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशस् १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन्। निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नु पर्नेछ ।