काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५, गड्डाचौकीकी १३ वर्षीया युवतीले टिकटकमा भिडियो बनाइराख्थिन् । कोरोना महामारीपछि विद्यालयले अनलाइन कक्षा पढाउने गरेकाले बुबाले उनलाई स्मार्ट फोन दिएका थिए ।

पढाइभन्दा टिकटकमा बढी समय दिन थाल्नुलाई परिवारले त्यति रुचाएको थिएन । गत १२ माघको दिउँसो उनी टेबलमा चढेर डोरीमा छुन खोज्दै थिइन् । यो दृश्य कक्षा ९ मा पढ्ने उनको दाइले पनि देखेका थिए । तर, दिदीले टिकटक बनाउँदै होलिन् भनेर वास्ता गरेनन् ।

Nepal Telecome

‘दिउँसो १ बजेतिर दाइले देखेका रहेछन् बहिनीले नाटक गरेको होला भन्ने लागेछ’, कञ्चनपुरका एसपी उमाप्रसाद चर्तुवेदी भन्छन्, ‘अपरान्ह ३ः४५ मा बुबाले गएर हेर्दा चिसो भेटेपछि हत्तपत्त डोरी काट्नु भएको रहेछ ।’ त्यसपछि प्रहरीले टोली पुगेर अनुसन्धान थालेको चर्तुवेदीले बताए ।

शवको पोष्टमार्टम भइसकेको छ । रिपोर्टमा झुण्डिएको कारण मृत्यु भएको भनिएको छ । कतै सुसाइड नोट वा आत्महत्या गर्नुपर्ने कुनै कारण भेटिएको छैन ।