मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन हुने भएको छ ।

मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिए।

Nepal Telecome

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् । सम्मेलनमा करिब रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।

मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो ।

विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढौं, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।