काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

Nepal Telecome

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनाका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस छ।