सुर्खेत । नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।
सुर्खेतमा हुने चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा सुर्खेत आउदैछन् । प्रतिज्ञा पत्र सार्वजनिक पछि कंग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो । केहिबेरमा सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति थापा, उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने छन् ।
आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरू सुर्खेत आउने छन् ।
आजको आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा चुनावी माहोल बनाउने विश्वास कांग्रेसले गरेको छ । आमसभाको प्रचार प्रसार व्यापक गरिएको र ठुलो सङ्ख्यामा मानिसहरू सभामा सहभागी हुने महामन्त्री केसीले बताए । आमसभाका लागि उपसभापति भुसाल काठमाडौंबाट हिजो नै सुर्खेत पुगी सकेको र सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम छ ।
सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो । खड्काले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । आफ्नै भाइ चुनाव लडेका भए पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन् ।
विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत गएका खड्कालाई चुनाव प्रचारमा आउन नसकेको बताइएको छ ।