काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा स्कुल नजिकको भित्री सडकखण्डमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलको पछाडि सवार कन्काई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।