भक्तपुर । नेपालमा इन्लाइन स्केटिङ खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा भक्तपुरस्थित डाइनामिक स्केट क्लब तथा काठमाडौं वल्र्ड स्कूल, भक्तपुरले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने लागेको हो ।
प्रतियोगिता आगामी १४ मार्च २०२६ (चैत ३० गते), शनिबार भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कूलको परिसरमा आयोजना हुनेछ ।
प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट उल्लेखनीय संख्यामा खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ भने महिला र पुरुष दुवै विधामा खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।