सुमन पण्डित/काठमाडौं
संगीत रोयल्टी संकलन समाजमा संगीतकार सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । फागुन ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ८ औं अधिवेशनबाट अधिकारी पाँचौपटक नेतृत्वमा आएका हुन् । प्रत्येक कार्यकालमा नयाँ नेतृत्व चयन गर्दा साधारणसभा र अधिवेशनबाट मात्र चयन गरिने प्रावधानलाई यसपटक भने कार्यालयबाट सिधै अध्यक्षमा निर्विरोध भएर आएका हुन् ।
अध्यक्षसँगै पुरानो कार्यसमितिबाट दुई जना गीतकार चन्द्र शर्मा र प्रमोद ढुंगाना तथा दुई जना संगीतकार पीएन सापकोटा र प्रसाद लामिछाने निर्विरोध भएर कार्यालयबाट नै आएका थिए । त्यसपछि ३ जना गीतकार र ३ जना संगीतकार सदस्यका लागि १०/१० जनाको उम्मेदवारी परेको थियो । जसअनुसार गीतकारमा सुजन लम्साल, डा.ओमकृष्ण प्रसाईं, बालकुमार श्रेष्ठ, विमल अधिकारी, रमेश परियार, नरेश खाती, विनोद ढकाल, करुण थापा, प्रकाश पराजुली, वसन्त कुमार खत्री रहेका थिए । दशजनामा भएको मतदानबाट सुजन लम्साल, रमेश परियार र नरेश खाती निर्वाचित भएका थिए ।
त्यस्तै संगीतकारतर्फ परेको उम्मेदवारीमा डोलराज बाह्रघरे, अर्जुन थापा, अष्टबहादुर लामा, राजेश थापा मगर, राजेन्द्र बजगाईं, गौरव दर्पण, शंकर थापा, दीपक शर्मा, रोशन सिंह र आशिष अविरल रहेका थिए । यी दशजनामा भएको मतदानबाट डोलराज बाह्रघरे, अर्जुन थापा र गौरव दर्पण निर्वाचित भएका छन् ।
फागुन २९ गते नै दिइएको उम्मेदवारी अनुसार कुनै पनि दाबी विरोध नभएपछि अधिवेशनको दिन राति राति ११ बजेसम्म सहमतिको प्रयास जारी रहेको थियो । सहमतिको प्रयासमा ६–६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । पछि ३–३ जनाको लागि ४–४ जनाबीच निर्वाचन प्रक्रिया सुरु भएको थियो । १९४१ सदस्य रहेको रोयल्टी समाजमा मध्यरातमा भएको मतदानमा भने जम्मा ७४ मत खसेको थियो । अन्ततः सहमति नभएपछि निर्वाचनमार्फत् ३/३ सदस्य चयन भएका थिए ।
अधिवेशनमा भएको बन्द सत्रमा करोडौं घाटाको हिसाब भन्दै धेरै स्रष्टाहरुले आवाज उठाए पनि विरोध गर्नेहरु समितिभन्दा बाहिर बस्नु परेको छ । प्रत्येक वर्ष स्रष्टाको रोयल्टीभित्र घोटला भयो भन्दै बन्द सत्रमा हिसाब किताब खोजिए पनि त्यसपछि कोही पनि कार्यालय पुगेर हिसाब खोज्ने काम गर्न आँट गरेको देखिँदैन ।
पाँचौपटकसम्म किन दोहोरिए अधिकारी ?
रोयल्टी संकलन समाजमा सुरेश अधिकारी मात्रै पाँचौं पटकसम्म किन अध्यक्ष भए भन्ने तर्क बितर्क हुन सक्छ । अधिकारीबाहेक नेतृत्व क्षमता अरुमा नभएर नै दोहोरिनु परेको हो त ? अमरस्रष्टा रत्नशमशेर थापाको तदर्थ समितिबाट सुरु भएको रोयल्टी संकलन समाजको १६ औं वार्षिक साधारणसभा भइरहँदा यस संस्थामा यादव खरेल, श्रीपुरुष ढकाल, राजेन्द्र थापा, सुरेश अधिकारी, महेश खड्का र सुरेश अधिकारी नै नेतृत्वमा रहेका छन् । ८औं अधिवेशन भइरहँदा पाँचपटकसम्म अधिकारीको नेतृत्व देखिन्छ ।
राजेन्द्र थापालाई उत्तरढोकामा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गरिएपछि केहीसमयमै सुरेश अधिकारी कार्यावाहक बनेर नेतृत्व सम्हाल्दै आएका हुन् । उनको सांगीतिक करिअरमा निकै उचाइ भइरहेको बेलामा उनी रोयल्टीमा आएका थिए । जसकारण संगीत सिर्जना भन्दा बौद्धिक अधिकारको लँडाईलाई ठूलो मान्दै उनी प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा आवाज उठाउँदै आएका हुन् । अधिकारीको भनाइअनुसार आफूले रोयल्टीमा करोडौं कमाउने स्रष्टा बनाउने सपना देखेको र स्रष्टाको सिर्जनाबाट रोयल्टी उठाउने मापदण्ड सहज रुपमा अवतरण गरेपछि अध्यक्ष पदबाट बाहिरिने बताउँदै आएका छन् । अब त्यो दिन नजिकै रहेको पनि अधिकारी बताउने गर्छन् ।
त्यसो त पछिल्लो समयको रोयल्टी उठाउने जिम्मा ठेकेदार कम्पनी ‘शिव म्यूजिक’लाई दिइएको छ । जसअनुसार ठेकेदार कम्पनीले ४० र रोयल्टी समाजले ६० प्रतिशत लिने गरी ठेक्का भएको पाइन्छ । अब रोयल्टी संकलन समाजले ठेक्काबाट आएको ६० प्रतिशतमा २५ प्रतिशत कार्यालय खर्चमा जाने गरेको छ । यदि अहिलेको हिसाबमा २५ प्रतिशत नै कार्यालय खर्चमा गयो भने ३५ प्रतिशत हिस्सा मात्र स्रष्टाको अधिकारमा पर्छ । अब त्यही ३५ प्रतिशतलाई सय प्रतिशत मानी गीतकार र संगीतकारले पाउनेछन् । रोयल्टीलाई भ्याट कम्पनीका रुपमा आधिकारिक बनाएर ठेकेदार कम्पनीसँग रोयल्टी उठाउने कार्यमा पनि सुरेश अधिकारीको नेतृत्व देखिएको हुँदा यो सपना पूरा गर्न पनि अधिकारी पुनः निर्वाचित भएको बताउँछन् । जब रोयल्टी तिर्नुपर्छ भन्ने वातावरण सबै क्षेत्रमा लागू हुन्छ त्यसपछि रोयल्टीमा कुनै कार्यसमिति नभए पनि स्रष्टाको बौद्धिक सम्पत्तिले न्याय पाउँछ अधिकारी पटक पटक भन्ने गर्छन् ।
रोयल्टीमा घोटाला भएकै हो त ?
रोयल्टीमा घोटाला भयो भनेर योभन्दा अगाडि पनि धेरैले आवाज उठाए । कार्यसमितिमा भएका कुनैबेलाका कोषाध्यक्ष र कुनैबेला बोर्ड सदस्य भएका लक्ष्मण शेषले धेरै स्रष्टाहरुलाई लिएर आवाज पनि उठाए । धेरैपटक अडिटर फेरिए तर हिसाब मिलेन । कोषाध्यक्षले भने ‘म स्रष्टा हुँ, यो हिसाब जान्दिनँ, एकाउन्टेनले के गरे !’ यसरी नै धेरै कार्यकालहरु फेरिए, एकाउन्टेनले घर बनाइसके तर स्रष्टाले ओत लाग्ने ठाउँ भेटेका छैनन् किन होला ? भन्ने प्रश्न गर्नेहरु धेरै छन् ।
यही कुरा फागुन ३० गते भएको अधिवेशनमा पनि दोहोरियो । बन्दसत्रमा अधिकारीमाथि स्रष्टाहरुले करोडौं घोटाला भएको आरोप पनि लगाए । सधैं नेतृत्वमा रहेर स्रष्टा रोयल्टीमाथि दोहन गरेको भन्दै आरोप लगाइरहँदा तपाईहरु चुप लाग्नुस्, म सम्हाल्छु रोयल्टी भन्दै नेतृत्वले आफ्नो दम्भसमेत प्रस्तुत गरेको देखिन्छ । त्यसो त संगीत क्षेत्रमा संगीतकार सुरेश अधिकारीको परिचय ‘रोयल्टी बा’ भनेर चर्चा गरिन्छ । एकातिर स्रष्टाहरुको आरोप प्रत्यारोप भइरहँदा पनि अधिकारी भने नेतृत्वमै लँडाइ गरिरहनुले पनि प्रश्नचिन्ह भने खडा हुनु स्वभाविकै हो । अब बन्दसत्रमा असार मसान्तसम्मको हिसाबलाई अडिट गरेर प्रस्तुत गरिन्छ । अधिवेशन फागुनमा हुन्छ । अडिटको हिसाब असार मसान्तको फागुनमा अधिवेशन हुँदा यो बीचको समयको हिसाबभित्र के कति छ ? भनेर स्रष्टाले बुझ्न अझैं वर्ष लाग्छ । त्यसैले यस्तो हिसाबको प्रक्रिया योभन्दा अगाडिका छानबिनले पनि देखाउन सकेको छैन । बन्दसत्रमा कोषाध्यक्षलाई प्रश्न सोधिन्छ तर उत्तर एकान्टले के ग¥यो बुझ्न पर्छ भन्ने आउँछ ।
कार्यसमिति दोहोरी स्रष्टाको वर्चश्व ?
तदर्थ समिति हुँदै यादव खरेल, श्रीपुरुष ढकाल, राजेन्द्र थापासम्म आइपुग्दा दोहोरीको प्रतिनिधित्व देखिएको थिएन । त्यसो त लोकदोहोरीलाई रोयल्टीको मापदण्डले समावेश गर्न सकेकै थिएन । तर सुरेश अधिकारी, महेश खड्काहरुले दोहोरीलाई ‘ब्यूत्पन्न’ शब्द भएका कारण यो एउटा सिर्जना हो भने र समावेश गराए । लोक भनेको समाजको हो । लय संकलन र शब्द संकलन भनेको संगीत सिर्जना होइन, खोजेर ल्याइएको र रेकर्ड गरिएको हो भनेर परिभाषित गरिएको थियो । हो हिजोको अबस्थामा लोकदोहोरी संकलन गरिन्थ्यो र रेकर्ड हुन्थे । तर पछिल्लो समयमा कोठाभित्र बसेर सिर्जना गरिन थालिएपछि लोकदोहोरी लोकभाकाको रुपमा मात्र सीमित भयो तर संगीत र शब्द सिर्जनामा केन्द्रीत भयो । सुरेश अधिकारीले नै धेरै लोकदोहोरीका स्रष्टाहरुलाई सिर्जनाको मापदण्डमा रोयल्टीको अधिकार दिएकै जस अहिलेसम्म पनि लिइरहेका छन् । आजसम्मको इतिहास हेर्दा आधुनिकतर्फका स्रष्टाहरु निरास बन्दै, नेतृत्व गर्न वा बहस गर्नतर्फ केन्द्रीत नभएर हिंडको जस्तो देखिन्छ । रोयल्टीको अभियानमा लोकदोहोरीले हिजोदेखि आजसम्म साथ दिँदै आइरहेको देखिन्छ । त्यही भएर पनि लोकदोहोरीका स्रष्टाहरु मतदानको प्रक्रियामा पनि सहभागी थिए भने आधुनिकतर्फको स्रष्टाहरु मतदानस्थलमा न्यून देखिन्थे । यसकारण पनि दोहोरीको बर्चश्व कार्यसमितिमा देखिन्छ । यसपालिको कार्यसमितिमा पनि चन्द्र शर्मा, पीएन सापकोटा, प्रसाद लामिछाने, सुजन लम्साल, रमेश परियार, नरेश खाती, डोलराज बाह्रघरे, अर्जुन थापा लोकदोहोरीबाट नै निर्वाचित भएका छन् ।