काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ ।

शुक्रबार रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजना तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित मेला आयोजना गरिएको हो।

मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताले सहभागिता जनाएका छन्।

Nepal Telecome

रोजगार सेवा केन्द्रका रोजगार संयोजक लक्ष्मी कार्कीले मेलाको उद्देश्य युवालाई आन्तरिक रोजगारी र सीप विकासका अवसरबारे जानकारी गराउनु रहेको बताइन् ।

उनले भनिन्, ‘रोजगार केन्द्रले आन्तरिक रोजगार प्रवद्र्धन र वैदेशिक रोजगार गरी दुई क्षेत्रमा काम गरिरहेको छ । आन्तरिक रोजगार प्रवद्र्धनका क्रममा नेपालमै रहेका युवालाई रोजगारदाता संस्था तथा कम्पनीसँग जोड्ने, कहाँ–कहाँ रोजगारी खुलिरहेको छ भन्ने जानकारी दिने र आवश्यक सीप कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने जानकारी उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।’

उनका अनुसार मेलामार्फत युवाले विभिन्न क्षेत्रमा उपलब्ध तालिम, रोजगारीका अवसर र रोजगार आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

यसैगरी, सहारा फाउण्डेसनकी अध्यक्ष दिलमाया तामाङ रानाले आत्मनिर्भरता नै संस्थाको मुख्य उद्देश्य रहेको बताइन् । उनले दातामुखी सोचभन्दा सीप र उत्पादनमार्फत आर्थिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘हामी कुनै संघ–संस्था वा सरकारको भरमा होइन, आफैं आत्मनिर्भर बन्नुपर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौं। खोक्रा भाषणभन्दा व्यवहारिक सीप आवश्यक छ । त्यसैले दिदीबहिनीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यका साथ सारा फाउन्डेसन सञ्चालन गरेका हौं ।’

उनका अनुसार संस्थाले विगतमा विभिन्न समुदायमा पुगेर तालिम सञ्चालन गरे पनि अहिले आफ्नै कार्यालयमा नियमित रूपमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । हाल हजारौं युवाले विभिन्न सीपसम्बन्धी तालिम लिइरहेका छन्।

रानाले गुणस्तरीय उत्पादन गर्न सके बजार आफैं आउने उल्लेख गर्दै सीपसँगै बजार व्यवस्थापनको ज्ञान पनि आवश्यक रहेको बताइन् ।

‘हामीले राम्रो गुणस्तर र राम्रो डिजाइनका सामग्री उत्पादन गर्न सके ग्राहक आफैं खोज्दै आउँछन् । अहिले सारा फाउन्डेसनमा होलसेलरहरू आफैं सम्पर्क गर्न आउनुहुन्छ। त्यसैले स्टलमार्फत मात्र होइन, पसल र होलसेलरहरूसँग सम्झौता गरेर पनि उत्पादन बिक्री गर्न सकिन्छ,’ उनले भनिन्।

उनले हाल संस्थामार्फत २० देखि २५ प्रकारका सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिँदै टाढा रहेका इच्छुक व्यक्तिका लागि अनलाइन तालिमको व्यवस्था पनि गरिएको बताइन्।

रानाका अनुसार सहारा फाउन्डेसनले कुनै जात, धर्म, समुदाय वा लैंगिक आधारमा विभेद नगरी सबैका लागि निःशुल्क सीपमूलक तालिम उपलब्ध गराउँदै आएको छ ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाले युवालाई रोजगारी, उद्यमशीलता र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

मेलामा सहभागीहरूले रोजगारका अवसर, सीप विकास कार्यक्रम तथा व्यवसाय विस्तारका सम्भावनाबारे प्रत्यक्ष जानकारी लिएका छन्।