काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई सरकारले तय गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि मंगलबार अर्थ मन्त्रालयमा भेट गर्दै अर्थमन्त्री वाग्लेले विशेष निर्देशन दिएका हुन् ।

Nepal Telecome

अर्थमन्त्री वाग्लेले व्यावसायिक वातावरण कायम राख्दै राजस्वको लक्ष्य हासिल हुने गरी ‘मिसन १६ खर्ब’ सफल बनाउन लाग्न आग्रह गरे ।

‘व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भन्े, ‘चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’

उनले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर थप चुस्त, प्रभावकारी र पारदर्शी बनाउन निर्देशन दिए । प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले भन्सार तथा कर आम्दानी वृद्धि गरी मुलुकको आन्तरिक आय बलियो बनाउन सके बाह्य ऋणमाथिको निर्भरता घट्ने र आफ्नै स्रोतबाट विकास निर्माणलाई गति दिन सकिने समेत बताए ।

प्रशासन संयन्त्रमा सक्षम र अब्बल सहसचिवका रूपमा चिनिएका अधिकारीहरूलाई राज्यको प्रतिष्ठासँग जोडिएका निकायको नेतृत्वमा ल्याइएको भन्दै अर्थमन्त्री वाग्लेले आगामी ६ देखि ८ महिनाभित्र परिणाम देखिने विश्वास व्यक्त गरे ।

गत असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो।

असार २२ गते मन्त्रालयमा हाजिर भएका तीनै जना सहसचिवलाई मन्त्रालयले क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएको थियो।

नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले अर्थमन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्दै राजस्व संकलन सुधार र प्रणाली सुदृढीकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।