" />
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको उल्लेख गरे । उनले भने– ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन ? प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ?’उनले काठमाडौंबासीसँग आयोजना ढिला भएकोमा माफी माग्नुपर्ने बेलामा प्रधानमन्त्रीले उद्घाटनको तमासा गरेको बताए । उनले भने–‘काठमाडौंबासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर कहिले उठेर कहिले बसेर उद्घाटन गरेको छ तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ ।’