काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ ।
आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए ।
तर उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधनमार्फत भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ ।
यस घटनापछि केही अनलाइन सञ्चारमाध्यमले प्रसाईँ पक्राउ परेको भन्दै समाचार प्रकाशित गरेपछि प्रहरीले त्यसको खण्डन गरेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पारे । उनले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि उनलाई नियन्त्रणमा लिएर घर पु¥याइएको बताए ।
‘हामीले पक्राउ गरेको होइनौँ । उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो । त्यसैले हामीले उहाँलाई घर छोडेर आएका हौँ । यो केवल सहजीकरण मात्र हो,’ एसपी भट्टराईले भने ।
प्रहरीले निषेधित क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन वा कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रसाईँलाई त्यहाँबाट हटाइएको जनाएको छ ।



