जलेश्वर । विगत दुई दिनदेखि महोत्तरी जिल्लामा मुसलधारे पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । हिजो बिहानदेखिनै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

Nepal Telecome

अविरल वर्षासँगै जिल्लाको सबै नदीमा बाढी आएको छ । जिल्लाका धेरैजसो गाउँठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी गाउँठाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउन जुटेका छन् ।

वर्षायाममा महोत्तरीको धेरैजसो भाग डुबानमा पर्ने गरेको तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्यनजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षा व्यवस्थाको जोहो गर्न थालेका छन् ।
यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित ९जिल्ला दैवी प्रकोप उद्धार समिति०लगायत विभिन्न जिम्मेवार निकाय पनि सतर्क भएको जनाइएको छ ।

सरकारी कार्यालय जलमग्न

दुई दिनदेखिको अविरल वर्षाका कारण देशकै होचो सदरमुकाम जलेश्वरमा अवस्थित सरकारी कार्यालय जलमग्न हुँदा कामकाजमा समस्या भएको छ । स्थानीय सरकार भएसँगै जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडक ३/४ फिटसम्म खनेर शहर नै गहिरो बनाइदिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, कृषि कार्यालय, पशु कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।