News Of Global बिहिबार, चैत्र १९, २०७७

काठमाडौं । संसारकै सबैभन्दा पुरानो कम्प्युटरको सङ्ज्ञा दिइएको एउटा दुई हजार वर्ष पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् । त्यसका लागि उनीहरूले त्यसको पुनर्रचना गरेका थिए ।

‘एन्टिकाइथेरा मेकनिजम’ नाम दिइएको उक्त उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा सन् १९०१ मा फेला परेको थियो।

उक्त उपकरण चलाउन हातले दम दिनुपर्थ्यो । त्यसको प्रयोग ग्रहण र अन्य खगोलीय घटनाको गणना गर्न हुने गरेको अनुमान गरिएको छ ।

तर भेटिँदा उक्त उपकरणको एकतिहाइ भाग मात्र यथावत् थियो । त्यसैले अनुसन्धानकर्ताहरूले सग्लो अवस्थामा उक्त उपकरण कस्तो देखिन्थ्यो र त्यसले कसरी काम गर्थ्यो होला भन्ने अनुमान गर्नुपरेको थियो ।

कसरी भयो रहस्योद्घाटन ?

यूनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रीडी कम्प्युटर मोडलिङ प्रयोग गरेर त्यसको पनि रहस्योद्घाटन गरिएको बताएका छन् ।

उनीहरूले पूरै अग्रभागको प्रारूप बनाएका छन् र आधुनिक सामग्री प्रयोग गरेर पूर्ण स्वरूपमै एन्टिकाइथेरा यन्त्रको प्रतिलिपि बनाउन सकिने अपेक्षा गरेका छन् ।

शुक्रवार ‘साईअन्टिफिक रिपोर्ट्स’ नामक जर्नलमा प्रकाशित शोधले गिअरिङ प्रणालीको वृत्तान्त र त्यसका जटिल भागबारे चर्चा गरेको छ ।

उक्त शोधपत्रका मुख्य लेखक प्राध्यापक टोनी फ्रीथले भने, ‘सूर्य, चन्द्रमा र ग्रहहरूलाई प्राचीन ग्रीक कौशलअनुसार प्रभावकारी रूपमा देखाइएको छ ।’

‘हाम्रो मोडल सबै भौतिक प्रमाणसँग र उक्त यन्त्रमा उल्लिखित वैज्ञानिक अभिलेखसँग मेल खाने पहिलो मोडल हो,’ उनले भने।

यो उपकरणको विशेषता के हो ?

उक्त उपकरणलाई एउटा ज्योतिषीय वा खगोलीय क्याल्क्युलेटर तथा संसारकै ‘पहिलो एनलग कम्प्युटर’ का रूपमा प्रस्तुत गरिएको छ ।

ढलोट प्रयोग गरेर निर्माण गरिएको यो उपकरणमा दर्जनौँ गिअरहरू छन् ।पृष्ठभागको ढकनीमा ब्रह्माण्डीय संरचनाको वर्णन छ। त्यसमा उक्त उपकरण निर्माण गर्दा चिनिएका पाँचवटा ग्रहहरूको गति देखाइएको छ ।

सन् १९०१ उक्त उपकरणका ८२ वटा टुक्रा फेला परेका थिए ।

वैज्ञानिकहरूले एक्स–रे डेटा र प्राचीन ग्रीन गणितीय पद्धति प्रयोग गरेर पूर्ण आकृतिको पुनर्रचना गरेका थिए । बिबिसी

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]