काठमाडौं । विश्व युवा दक्षता दिवसको अवसरमा युवा अभियन्ता सरोज वानियाँले नेपालमा युवाको सीप, रोजगारी र उद्यमशीलतालाई केन्द्रमा राखेर प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको बताएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल युवा परिषद्का संस्थापकसमेत रहेका वानियाँले अहिलेको युवा पुस्ताको सबैभन्दा ठूलो चाहना आफ्नै देशमा अवसर सिर्जना गर्नु रहेको बताए। उनका अनुसार रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता घटाउँदै नेपालमै उद्यम र रोजगारीको वातावरण निर्माण गर्न राज्यले प्राथमिकता दिनुपर्छ।

Nepal Telecome

उनले जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिवेशले युवामा ठूलो अपेक्षा जगाएको उल्लेख गर्दै रोजीरोटी, जनजीविका र भविष्यसँग जोडिएका विषयमा सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए।

वानियाँले ३६ वर्षीय युवा प्रधानमन्त्रीको नेतृत्वमा रहेको वर्तमान सरकारले युवाको भावना बुझेर उनीहरूको आवश्यकता सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

“अहिले देशको प्रधानमन्त्री नै ३६ वर्षको युवा हुनुहुन्छ। मन्त्रिपरिषद् र संसद्मा पनि युवाको उल्लेख्य सहभागिता छ। त्यसैले युवाका लागि सीप, प्रविधि, उद्यमशीलता र रोजगारीसँग सम्बन्धित प्रभावकारी कार्यक्रम आउने अपेक्षा स्वाभाविक छ,” उनले भने।

उनका अनुसार युवालाई लक्षित छुट्टै कार्यक्रमभन्दा पनि हरेक सरकारी नीति र योजनामा युवालाई केन्द्रमा राख्नुपर्छ। कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि, डिजिटल साक्षरता, नवप्रवर्तन र उद्यमशीलता अब युवाको भविष्यसँग प्रत्यक्ष जोडिएका विषय बनेको उनको भनाइ छ।

‘एक युवा, एक सीप’ अभियान आवश्यक

वानियाँले नेपालले अब ‘एक युवा, एक सीप’ अवधारणालाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए। बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सके नेपाली युवाले स्वदेश तथा अन्तर्राष्ट्रिय श्रम बजार दुवैमा राम्रो अवसर पाउने उनको विश्वास छ।

उनले अहिले पनि ठूलो संख्यामा नेपाली युवा पर्याप्त सीपबिना वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षालाई समयानुकूल बनाउनुपर्ने धारणा राखे।

सूचना प्रविधि, एआई, डेटा विश्लेषण, सफ्टवेयर विकास, डिजिटल सेवा र फ्रिलान्सिङजस्ता क्षेत्रमा युवालाई दक्ष बनाउन सके नेपालमै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने उनले बताए।

वैदेशिक रोजगारीमा सीप अपरिहार्य

खाडीलगायतका मुलुकमा जाने अधिकांश नेपाली युवा सामान्य श्रमिकका रूपमा जाने गरेको उल्लेख गर्दै वानियाँले आवश्यक सीपसहित पठाउन सके उनीहरूको आम्दानी र जीवनस्तर दुवैमा सुधार आउने बताए।

उनका अनुसार आधारभूत कम्प्युटर ज्ञान, भाषा, प्रविधि र व्यावसायिक सीपले नेपाली युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्छ।

डिजिटल पूर्वाधार सुधार गर्नुपर्ने

कोभिड–१९ पछि विश्व श्रम बजारमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उनले गिग इकोनोमी, रिमोट वर्क र डिजिटल रोजगारीको अवसर बढ्दै गएको बताए।

तर नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली, डिजिटल सेवा, डेटा पहुँच र आवश्यक पूर्वाधारको अभावले युवाले अवसर गुमाइरहेको उनको भनाइ छ। सरकारले फ्रिलान्सिङ र डिजिटल रोजगारीलाई सहज बनाउन आवश्यक नीतिगत सुधार गर्नुपर्ने उनले सुझाए।

युवा संस्थालाई प्रभावकारी बनाउन आग्रह

वानियाँले राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार कोषलगायतका संस्थालाई पुनर्गठन गरी प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। संस्था हटाउनेभन्दा सक्षम नेतृत्व र परिणाममुखी कार्यशैलीमार्फत ती संस्थालाई सशक्त बनाउनुपर्ने उनको धारणा छ।

‘हरेक दिन नयाँ सीप सिक्नुस्’

विश्व युवा दक्षता दिवसको अवसरमा उनले युवालाई आफ्नो क्षमता विकासमा निरन्तर लगानी गर्न आग्रह गरे।

“मोबाइल, ल्यापटप र इन्टरनेट नै आज संसारसँग जोडिने माध्यम बनेका छन्। एआई, डेटा विश्लेषण, डिजिटल प्रविधि र नयाँ सीप सिक्नुस्। यसले नेपालमै बसेर विश्व बजारसँग प्रतिस्पर्धा गर्ने क्षमता दिन्छ,” उनले भने।

वानियाँका अनुसार सरकारले अवसर सिर्जना गर्नुपर्छ भने युवाले पनि आफ्नो सीप र क्षमताको विकासमा सक्रिय भूमिका खेल्नुपर्छ। सही सीप र अवसरसँग युवा जनशक्तिलाई जोड्न सके नेपालको जनसांख्यिक लाभ आर्थिक समृद्धिको आधार बन्न सक्ने उनको निष्कर्ष छ।