काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा बन्ने यस चलचित्र रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ चलचित्र निर्माण गर्न लागिएको हो।
चलचित्रको निर्देशन सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले गर्नेछन्। चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन् भने उनी नै प्रस्तुतकर्ता पनि हुन्। दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने चर्चित छायाकार हरि हुमागाईं चलचित्रका डिओपी (डाइरेक्टर अफ फोटोग्राफी) रहनेछन्।
निर्माण पक्षका अनुसार चलचित्रको मूल भाषा नेपाली हुनेछ। अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यसलाई मलियालम र हिन्दी भाषामा समेत डब गरिनेछ। चलचित्रका परिकल्पनाकार तथा मुख्य अभिनेता मलियालम चलचित्र उद्योगसँग आबद्ध रहेको जनाउँदै निर्माण पक्षले मुख्य अभिनेताको परिचय आधिकारिक फर्स्ट लुकमार्फत सार्वजनिक गरिने जनाएको छ। साथै, चलचित्रमा मलियालम चलचित्र उद्योगका केही कलाकार तथा प्राविधिकहरूको समेत सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिए।
चलचित्रको पटकथालाई नेपाली परिवेशअनुकूल संवादमा रूपान्तरण तथा परिमार्जन गर्ने काम लेखक शान बस्नेतले गरिरहेका छन्। चलचित्रको छायाङ्कन यसै वर्षको फागुन–चैतदेखि सुरु गर्ने तयारी गरिएको छ।
निर्माण पक्षका अनुसार चलचित्रका अधिकांश मुख्य भूमिकामा नेपाली कलाकारहरू रहनेछन्। त्यसैगरी, छायाङ्कनसहित अधिकांश प्राविधिक टोली पनि नेपाली चलचित्र उद्योगकै हुनेछ। चलचित्रका गीत–सङ्गीतसमेत नेपाली सर्जकहरूले नै तयार गर्नेछन्।
करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ लाई नेपाली चलचित्र उद्योगको महत्त्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ। अलौकिक कल्पना, साहसिक यात्रा, एक्सन र आधुनिक चलचित्र प्रविधिको संयोजनमा बन्ने यस चलचित्रको छायाङ्कन नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूमा गरिनेछ। स्वदेशीसँगै अन्तर्राष्ट्रिय दर्शकलाई समेत आकर्षित गर्ने लक्ष्यका साथ निर्माण हुन लागेको चलचित्रप्रति निर्माण पक्षले आशावादी रहेको जनाएको छ।



