काठमाडौं । प्रतिक्षित नेपाली चलचित्र ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमाल को स्वर रहेको छ।
बाबुल गिरी को शब्द तथा संगीत रहेको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा लगायतका मुख्य कलाकार फिचर्ड छन्। गीतको कोरियोग्राफी रामजी लामिछाने ले गरेका हुन्।
अन्जन शर्मा र काजी लिम्बु को संयुक्त निर्देशनमा बनेको चलचित्र ९ असोज देखि देशभर प्रदर्शनमा आउनेछ।
गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमाल ले ‘जदौ हजुर’ गीत प्रस्तुत गर्दै कार्यक्रमको माहोल तताएका थिए। कार्यक्रममा बोल्दै राजनराजले यो गीतमा आफूले पहिलो पटक केवल गायकका रूपमा स्वर दिएको बताए। रचनाले भने राजनराजसँग आफ्नो पहिलो प्लेब्याक सहकार्य रहेको उल्लेख गरिन्।
समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट ले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालि सँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौडेल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
कार्यक्रममा अभिनेत्री नीति शाह ले ‘जदौ’ अहिलेका चलचित्रभन्दा फरक र यथार्थपरक कथामा आधारित रहेको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसाल ले चलचित्रमा आफूलाई वास्तविक पात्रका रूपमा प्रस्तुत गरेको बताए भने प्रभातपाल ठकुरी ले यो फिल्म आफ्नो करियरका लागि विशेष रहेको उल्लेख गरे। यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी राजश्री थापा ले आफ्नो पहिलो प्रयासलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गरिन्।
निर्देशक अन्जन शर्मा ले उत्कृष्ट चलचित्र निर्माणका लागि कुनै कसर बाँकी नराखिएको बताए। सहनिर्देशक तथा लेखक काजी लिम्बु ले चलचित्रले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने दाबी गरे।
श्याम तामाङ र नवराज उप्रेती को छायांकन रहेको चलचित्रका सह–निर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल रहेका छन्। सृजना शर्मा र मनिष शर्मा निर्माता, शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड रहेकी छन्। चलचित्रको देशव्यापी वितरण एनजीसीएन ग्रुप ले गर्नेछ।
https://www.youtube.com/watch?v=BF7uDhnNK2Y



