काठमाडौं । हरितालिका तीज आउन अझै करिब दुई महिना बाँकी रहे पनि नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक सुरु भइसकेको छ। नयाँ तीज गीतहरूको रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ।
यसैक्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘केटी पार्टी’ साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा कोटेश्वरस्थित होटल तपोवनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। गीतमा मनिष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने आकाश नेपालीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।
“उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने सकारात्मक सन्देश बोकेको गीतको म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको अभिनय तथा नृत्य रहेको छ।
भिडियोको छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन मनिष श्रेष्ठले गरेका छन्। भिडियो मनिष श्रेष्ठको आधिकारिक युट्युब च्यानल ‘Manish Shrestha’ मार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा अभिनय गरेका बिमला भण्डारी, कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठ सामाजिक सेवामा सक्रिय व्यक्तित्व हुन्। उनीहरूले विभिन्न संघ–संस्थामार्फत समाजसेवामा योगदान दिँदै आएका छन्। यसपटक उनीहरूले उत्साह र रहरका साथ तीज गीत निर्माण गरेको जनाउँदै आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ तीज गीत ल्याउने तयारी रहेको बताएका छन्।



