" /> अध्यागमनबाट फर्काइए विदेश जान लागेका ७६ यात्रु – News of Global

News of Global मंगलबार, मंसिर २१, २०७८

काठमाडौँ : ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिनुभयो ।

“केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए”, शाहीले रासससँग भन्नुभयो । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् ।

उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । “उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुन्छ,” शाहीले थप्नुभयो ।

उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उहाँले बताउनुभयो । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।

उनीहरु आइतबार राति त्रिभुवन विमास्थलबाट दुबई उड्दै थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही परिवारसहित आएका व्यक्तिहरु भने प्रमाणका आधारमा विदेश पठाइएको जानकारी दिनुभयो । “सहकारीको लेटरप्याडबाट विदेश जान लागेका थिए”, महानिर्देशक भट्टराईले भन्नुभयो, “उनीहरु विदेश जानुको उद्देश्य के थियो, त्यसरी भ्रमण गर्ने अधिकार छ कि छैन, छ भने स्थानीय तहले नियमन गर्ने सहकारीले त्यहाँबाट आधिकारिक अनुमति प्राप्त गरेको हो कि होइन भन्ने जोडिन्छ ।” उहाँका अनुसार नियमन गर्ने निकायबाट अनुमति लिएर ल्याउन भनेर फर्काइएको हो । “हाम्रो उद्देश्य कोही पनि विदेश गएर अलपत्र नपरुन् भन्ने हो”, भट्टराईले रासससँग भन्नुभयो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]