काठमाडौं । भोटेकोशी नदी जलाधार क्षेत्र तथा रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोली परिचालन गरिएको छ।
गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर सुरक्षा निकायको संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा राहत कार्यका लागि बिदाइ तथा ब्रिफिङ गरेका हुन्। उनले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय र द्रुत परिचालनमा जोड दिए।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा र उद्धार रहेको स्पष्ट पारे। रात पर्नुअघि अधिकतम उद्धार कार्य सम्पन्न गर्न सबै हेलिकोप्टर परिचालन गरिएको र निजी प्रयोजनका उडान रोक्दै उद्धार कार्यमा केन्द्रित गरिएको उनले जानकारी दिए।
‘पहिलो प्राथमिकता उद्धार नै हो। हामीले सबै हेलिकोप्टर परिचालन गरिसकेका छौँ। अहिले निजी प्रयोजनका लागि कसैले पनि उडान गर्न पाउने छैनन्। सबै हेलिकोप्टर उद्धारमा मात्र केन्द्रित छन्, किनकि रात परेपछि उद्धारमा थप कठिनाइ हुन्छ,’ उनले भने।
उनका अनुसार उद्धारलगत्तै प्रभावित नागरिकका लागि राहत तथा अस्थायी बसोबासको व्यवस्थापन गरिनेछ।
बाढीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृहमन्त्रीले माथिल्लो भेगमा हिमताल फुटेका कारण भीषण बाढी आएको र केही बस्तीमा ठूलो क्षति पुगेको बताए। क्षतिको पूर्ण विवरण संकलन गर्न अझै समय लाग्ने उनको भनाइ छ।
‘अझै पनि बाढीको सतह करिब सात मिटरसम्म उच्च रहेको सूचना छ। त्यसैले हामीले सम्पूर्ण संयन्त्रलाई हाई अलर्टमा राखेर काम गरिरहेका छौँ,’ उनले भने।
यसैबीच, गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकलाई उद्धार टोलीको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत संकेत दिन आग्रह गरेका छन्।
‘जस–जसलाई आपत्कालीन उद्धार आवश्यक छ, उहाँहरूले सुरक्षित स्थानमा आगो बालिदिनुभयो भने हेलिकोप्टर टोलीलाई लोकेसन पहिचान गर्न सहज हुन्छ। सम्भव भएसम्म हेलिप्याड बनाउन मिल्ने खुला स्थान नजिकै आगो बालेर संकेत दिन म सबै प्रभावितलाई अनुरोध गर्दछु,’ उनले भने।
गृहमन्त्रीले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा रहन, अनावश्यक जोखिम नलिन तथा उद्धार टोलीको निर्देशन पालना गर्नसमेत आग्रह गरेका छन्।



