लस एन्जलस (भेराइटी) । सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक यात्रामा आधारित फिल्म ‘तेन्जिङ’को पहिलो ट्रेलर सार्वजनिक भएको छ।
‘हामी ३० वर्षदेखि यो हिमाल चढ्ने प्रयास गरिरहेका छौं,’ ट्रेलरमा सेनाका कर्नेल जोन हन्ट भेला भएका आरोहीलाई भन्छन्, ‘सबैभन्दा पहिले माथि पुग्न बेलायत हामीमाथि निर्भर छ ।’
त्यो हिमाल हो, विश्वकै अग्लो सगरमाथा । जोन हन्टको भूमिकामा विलेम डाफो छन् । हन्टले सगरमाथाको पहिलो सफल आरोहण अभियानको नेतृत्व गरेका थिए । आरोहण टोलीमा न्युजिल्यान्डका एडमन्ड हिलारी पनि थिए, जसको भूमिका टम हिडलस्टनले निर्वाह गरेका छन् ।
सन् १९५३ मा सगरमाथाको चुचुरोमा पहिलोपटक पुगेको श्रेय पाउने अर्का आरोही हुन् तेन्जिङ नोर्गे । फिल्ममा उनको भूमिका गेन्डेन फुन्त्सोकले निर्वाह गरेका छन् ।
फिल्मले तेन्जिङलाई सगरमाथालाई ‘अरू कसैले भन्दा राम्रोसँग चिन्ने’ र बाल्यकालदेखि नै त्यसबारे सोच्न नछाडेका प्रतिभाशाली शेर्पाका रूपमा प्रस्तुत गर्छ ।
तेन्जिङ, हिलारी र हन्ट सन् १९३० को दशकदेखि हिमाली शिखर आरोहणको प्रयासमा संलग्न ब्रिटिस अभियानसँग जोडिएका थिए । फिल्मले करिब दुई दशकपछि प्राप्त उनीहरूको कठिन र जोखिमपूर्ण सफलताको कथा पछ्याउँछ ।
आधिकारिक कथासारअनुसार पत्नी दावा (थिन्ले ल्हामो)को प्रोत्साहन पाएका तेन्जिङले अभियानकी सचिव जिल हेन्डरसन (कैट्रिओना बाल्फ) लाई सहयोगीका रूपमा पाउँछन् ।
उनीहरू मिलेर हन्टलाई तेन्जिङ ब्रिटिस आरोहण टोलीको सेवा गर्ने व्यक्ति मात्र नभई टोलीकै आरोहीका रूपमा समावेश हुनुपर्नेमा सहमत गराउँछन् ।
पश्चिमी आरोहीले ‘एभरेस्ट’लाई जित्नुपर्ने लक्ष्यका रूपमा हेर्दा तेन्जिङ भने ‘चोमोलुङ्मा’लाई पवित्र मातृदेवीका रूपमा श्रद्धा गर्छन् ।
त्यसपछि सुरु हुने आरोहणमा हिमालको जोखिमसँगै फरक पृष्ठभूमि, वर्ग र प्रतिस्पर्धी महत्वाकांक्षाबीचको तनाव पनि उत्तिकै महत्वपूर्ण बनेर आउँछ । तर संसारभन्दा निकै माथि पुगेपछि साम्राज्य, पद र महत्वाकांक्षाको अर्थ हराउँदै जान्छ ।
आपसी सम्मान र विश्वासले दुई बाहिरी पात्रलाई जोड्छ । तेन्जिङका लागि यो यात्रा जीवनभरको सपना र आध्यात्मिक आह्वान दुवैको पूर्णता बन्छ ।
‘तेन्जिङ’लाई अस्ट्रेलियाली निर्देशक जेन्निफर पिडमले निर्देशन गरेकी हुन् । उनले सन् २०१५ को बाफ्टा मनोनित वृत्तचित्र ‘शेर्पा’ पनि निर्देशन गरेकी थिइन् ।
त्यसको एक वर्षअघि उनी सगरमाथाका शेर्पाबारे वृत्तचित्र निर्माणमा काम गरिरहेकी थिइन् । त्यही बेला सगरमाथामा गएको विशाल हिमपहिरोमा १६ तिब्बती पर्वतीय पथप्रदर्शकको मृत्यु भएको थियो। ‘तेन्जिङ’ यसै महिना टेलुराइड फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । फिल्म टोरन्टोमा पनि प्रदर्शन भइरहेको छ भने सेप्टेम्बर २४ मा जुरिच फिल्म फेस्टिभलको उदघटन फिल्मका रूपमा प्रदर्शन हुनेछ । यो फिल्म अक्टोबर ९ देखि हलमा प्रदर्शनमा आउनेछ । त्यसको एक सातापछि ‘तेन्जिङ’ एप्पल टिभीमा स्ट्रिमिङ सुरु हुनेछ ।



