नेपाल र भारतका चलचित्रकर्मीको संयुक्त सहकार्यमा निर्माण हुन लागेको महत्वाकांक्षी चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको अवसर पारेर निर्माण टिमले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलक सार्वजनिक गरेको हो।

Nepal Telecome

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् भने चलचित्र पत्रकार सचित खड्का कार्यकारी निर्माताका रूपमा जोडिएका छन्।

चलचित्रको छायाङ्कन आगामी असारदेखि सुरु गर्ने तयारी छ। नेपालमा ३० प्रतिशत र भारतमा ७० प्रतिशत छायाङ्कन गरिने यस चलचित्रका महत्वपूर्ण दृश्य भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत खिचिनेछ।

चलचित्रमा नेपाल र भारतका चर्चित कलाकारहरूको अभिनय रहनेछ। यद्यपि कलाकारहरूको नाम भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।

झन् रोचक कुरा त के छ भने, चलचित्र नेपाली र हिन्दीबाहेक पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै विश्वका अग्रणी ओटीटी प्लेटफर्मसँग समेत प्रदर्शन तथा वितरणका विषयमा छलफल भइरहेको निर्माण पक्षले जनाएको छ।

सम्पादन, कलर ग्रेडिङ, ध्वनि डिजाइन र भिजुअल इफेक्ट्सलगायत प्राविधिक काममा पनि भारतीय प्रतिष्ठित कम्पनी तथा अनुभवी प्राविधिक टोलीसँग सहकार्य गरिनेछ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित निर्माण हुन लागेको ‘मोनालिसा ब्लडी लभ’ कस्तो बन्नेछ? पहिलो झलकले दर्शकमा उत्सुकता बढाएको छ।