काठमाडौं । मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेभसाइटमार्फत उजुरी दिएका हुन् ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने अन्य काममा व्यस्त भएकाले अनलाइनमा उजुरी आए नआएको हेर्न नभ्याएको बताए । ‘अनलाइनमार्फत उजुरी प्राप्त भएपछि प्रेषकलाई प्राप्त भएको जानकारी सिस्टमले नै दिन्छ।’

बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सबत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोपमा अख्तियारमा उजुरी गरिएको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।

Nepal Telecome

उजुरीमा लगाइएका आरोप

१. तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको ।
२. बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको ।
३. खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको ।
४. मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको ।
५. वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको ।
६. विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको ।
७. यस अघिका ठुला भ्रष्टाचार काण्डहरू (वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको ।