" />
काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको विरुद्ध विपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन् ।
पहिले ओली सरकारको विरुद्धमा रहेका भनिएका मधेशवादी दल जसपा र तिनका नेताहरू त्यत्तिकै छरपष्ट अवस्थामा पुगेका छन् । प्रमुख विपक्षी दल नेपाली काँग्रेस पनि निरीह बन्दै गएको छ । निर्णायक घडी वारिकोभन्दा पारिको वचन र निर्देशनमा भर पर्न थालेको छ ।
यता,सरकार र पार्टीभित्र कसैले हल्लाउन नसक्ने आँकलन गरेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले महत्वाकांक्षी योजनाका साथ आगामी मंसिरको लागि महाधिवेशन घोषणा गर्नुभएको छ । अब हुने भनिएको महाधिवेशनमा आलोचनाशून्य समर्थक समूहले ताली पिटेपछि पुनः उहाँ आफैँ अध्यक्ष हुने रणनीतिमा विधान संशोधन र महाधिवेशनको घोषणा गरिएको अर्थ लगाउन गाह्रो छैन । घटनाक्रमले उहाँसँग निकट भनिएका अर्थमन्त्री विष्णु पौडेल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई क्रमशः साइड लगाउने माहौल बन्दै गएको छ । जबकि यसअघि उहाँहरू दुबैजनालाई ओलीको उत्तराधिकारीको रूपमा लिइएको थियो ।
त्यही रहस्य बुझेर हुनसक्छ पोखरेल र पौडेल पार्टीलाई अलिकति भएपनि मिलाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा लागेको बालुवाटारनिकट स्रोतको बुझाई छ । ‘त्यसो हुँदा मात्र महाधिवेशनमा आफूहरूलाई फाइदा हुने सुुक्ष्म क्याल्कुलेशनमा त्यसो गरिएको हो,’ भन्दै स्रोत थप्छ ‘त्यतिन्जेल पार्टीबाट नअलग्गिई सङ्गै बसिरहेमा वरिष्ठ नेता माधव नेपाल र ओलीबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । अनि आफूहरूसँग ओलीले मिल्नै पर्ने परिस्थिति सिर्जना हुने भएकाले त्यसको लाभ पोखरेल र पौडेललाई जाने उहाँहरूको निश्कर्ष हो ।’
उहाँहरूले अन्यथा,ओलीसँग जुध्न नसकिने भएकाले समर्पण गर्नुको विकल्प नभएको समेत बताएको स्रोतको दाबी छ । त्यसैले परिस्थिति मिलुन्जेल मन्त्री खानेमा दुवैजना ढुक्क हुनुहुन्छ । चुनावपछि कुनैपनि नेताको अहिलेको सरकारी पोजिशन नरहनेमा सबै ढुक्क छन् । त्यसपछि पार्टीभित्रको पदमात्र बाँकी रहने छ । त्यसैले महाधिवेशनमा पार्टीभित्रको पद पनि अध्यक्ष ओलीले अरुलाई जिम्मा लगाउने माहौल बन्दै गएपछि उहाँहरूले उक्त पहल थाल्नुभएको बताइन्छ ।
उता,वामदेव गौतम पनि राष्ट्रिय सभामा सांसद हुनुभएकाले आगामी चुनाव लड्ने कुरो भएन । पार्टी ब्रेक भएको अवस्थामा उहाँले चुनाव जित्ने कुरो आकाशको फल हुनेछ । अर्कोतर्फ अहिल्यै उमेर ७३ वर्ष भइसकेको छ । यसअघि जति खेलाए पनि उहाँ आँखा चिम्लेर प्रधानमन्त्री ओलीको पछि लाग्नुभएको थियो । तर,अहिले उनै गौतमलाई बालुवाटारको ढोका अनौपचारिक रूपमा बन्दसरह बनाइएको छ । यसबीच उहाँको सम्बन्ध वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि त्यति निकट देखिँदैन । त्यसैले होला बालुवाटारले भन्ने गरेको छ ‘गौतमको शक्ति सिध्दियो,चुनाव र महाधिवेशनपछि उनको अध्याय पूर्णतस् समाप्त हुनेछ ।’
त्यसोभए प्रधानमन्त्री ओलीले जे जति निर्णय र कदम चाल्नुभएको छ त्यो सबै कोसँगको सल्लाहमा होला रु भन्ने जिज्ञासा छदैछ । स्रोत भन्छ ‘पार्टीभित्र सल्लाह गर्ने भनेको शीतल निवास मात्रै हो । त्यसपछि अलिअलि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हुन् । विष्णु रिमाल,सुवास नेम्वाङहरू देखाउने दाँत मात्रै हुन् । चपाउने दाँत अघिल्ला दुई हुन्