" />
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
‘अहिले सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकोले नियमित गर्ने र अब हुने परीक्षाहरु भने स्थिति अनुसार विकल्पमा जान सक्ने गरी निर्णय गरेका छौं’ उनले भने ।
त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु पनि रोक्नुपर्ने आवाज उठेको छ । तर त्रिविले भने धेरै विद्यार्थीको परीक्षा सकिइसकेको र बाँकी परीक्षा दिने विद्यार्थीको संख्या कम भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिँदा जोखिम नहुने बताएको छ ।