काठमाडौँ । नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । हालको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा सो वडामा सो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने आज निर्णय गरिएको हो ।

कांग्रेसले शुक्रबारदेखि प्रारम्भ हुन लागेको गाउँ÷नगर वडा अधिवेशनको पूर्वसन्ध्यामा सो व्यवस्था गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Nepal Telecome

यसअघि प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कांग्रेस कार्यसमितिको बैठकमा प्राप्त सुझावसमेतलाई ध्यानमा राखी सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा आजको निर्णय गरिएको हो ।