" />
धनगढी । कोरोना संक्रमण परीक्षण गर्दा र्यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीया महिला वीरगञ्ज नाकामा चिया बेच्छे गर्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा मात्र कैलालीको लम्की पठाएको थियो । उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् । तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बतायएको छ । उनी कोरोना संक्रमित १३ औं व्यक्ति हुन् । कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।