काठमाडौं । अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् । एकैपटक धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेपछि डिपोर्टको निर्णय भएको सुनाए ।

स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजाने नयाँ रुटका रूपमा दुबईबाट मोरक्कोको कासाब्लांका पु¥याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको छ । कोरोना संक्रमणको तेस्रो लहर रोकिएपछि यो रुट हुँदै केही नेपाली अघि बढेपछि संगठित मानव तस्करका एजेन्टहरूले यो रुटको प्रयोग गरिरहेको पाइएको छ ।

यतिका धेरै नेपाली एकैचोटि कसरी त्यहाँ पुगे भन्ने खुलिसकेका छैन् । सम्र्पकमा आएका एकजनाले भने केही लामो समयअघि नै भिजिट भिसामा दुबई आएका नेपाली रहेको र केही हालसालै भिजिट भिसामा दुबई पुगेको रहेको बताए । सरकारले भिजिट भिसामा दुबई जानेमाथि कडाइ गरिरहेका बेला ती नेपाली कसरी दुबई पुगे भन्ने शंकास्पद देखिएको छ ।

Nepal Telecome

यसअघि पनि नेपालीहरू अवैध रूपमा अमेरिका जाने भन्दै काठमाडौंबाट दिल्ली–इन्डोनेसिया हुँदै इथोपिया पुगेर अलपत्र भएका वा काठमाडौंबाट भियतनाम, इथोपिया, माडागास्कर, जोर्डन, दुबई, अजरबैजान पुगेर बन्धक बनेका घटना सार्वजनिक भएका थिए । मानव तस्करहरूले मुख्यगरी दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेर अमेरिका छिराउने प्रयास गरेको देखिन्छ ।

यो घटनाबारे जानकार एक उच्च प्रहरी अधिकारीले पछिल्लो रुटको प्रयोग गरेर यति धेरै नेपाली अमेरिका छिर्न अघि बढेको घटना भने पहिलोपटक सार्वजनिक भएको बताए । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार डिपोर्ट भएकामध्ये केही सोमबार रातिसम्म नेपाल आईपुग्ने बुझिएको छ । यो घटनाबारे जानकार प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले भने, ‘अब यो घटनाको अनुसन्धान कसरी अघि बढ्छ भन्ने हेर्न उनीहरु डिपोर्ट भएर आएपछि मात्रै भन्न सकिन्छ ।’