काठमाडौं । सांसद डा.सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी ओलीले भेट्न खोज्नुभएको छ भन्दै झुक्याएर गलत मनसायले जनकपुरबाट राति ३ बजे काठमाडौं ल्याइएको थियो । पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले आफूलाई झुक्याएर काठमाडौं ल्याए पनि राजपा र समाजवादी पार्टी एक भएकोमा आफ्नो सपना पूरा भएको बताएका छन् ।

मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् ।

Nepal Telecome

पार्टी एकीकरण भई निर्वाचन आयोगमा दर्ता भइसकेपछि सांसद यादवले भने, ‘मेरो सपना थियो, त्यो साकार भएको छ, आजको दिनमा तीनवटा पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।’

सांसद यादवले नेकपाको कब्जाबाट फुत्केपछि मिडियालाई दिएको राजनीतिक प्रतिक्रिया यस्तो छः

यो जुन अध्यादेश ल्याइएको छ, हाम्रो प्रधानमन्त्रीको पनि पार्टीभित्रै स्पष्टीकरण दिनुपर्ने अवस्था भइसकेको छ । यो किन ल्याउनु भो रु समाजवादी फुटाउन । तर, समाजवादी फुट्ने अवस्था देखिएन । यसमा मलाई पक्कै पनि टार्गेट गरिएको हो । त्यसअनुसार दुईजना नेकपाका माननीय महेश र किसनजी खबर नदिइकन पुग्नुभयो । आइजीपी साहेब (सर्वेन्द्र खनाल) सँग मेरो पहिल्यै देखिको चिनाजानी हो । एमपीसाबहरुसँग पुरानै चिनाजानी । उहाँहरुले खासै कुनै नराम्रो व्यवहार मसँग गर्नुभएको छैन । तर, एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्‍यो भन्ने किसिमको दबाव आयो ।

लकडाउनका बेलामा मेरो काठमाडौं आउने विचार थिएन । आउँदा आउँदै ढीला भयो । राति तीन बजिहाल्यो । उहाँहरुको मनसाय बुझेपछि बिहान मर्निङवाक गर्दै बाहिर निस्किएँ । मर्निङवाक गर्दै अध्यक्षजीकहाँ पुगिहालें ।

मेरो सपना थियो, त्यो आज साकार भएको छ । तीनवटा एउटै विचारधारका पार्टीहरु थिए । मैले नयाँ शक्तिबाट सुरु गरें । अर्को त्यस्तै विचारधाराको संघीय समाजवादी पार्टी थियो । त्यस्तै मधेसको प्रतिनिधित्व गर्ने बलियो पार्टी राजपा थियो । नयाँ शक्ति र संघीय समाजवादीको मिलन हुँदा दुबै पार्टीमा म आफैं बसेको हुँ । अहिले म जसरी सांसद भएको छु, राजपा र फोरमको एकताले भएको हुँ ।

यस्तो अवस्थामा सधैंका लागि हेर्ने हो भने जति पनि पिछडिएको समुदाय र संविधान संवोधन नभएका कुराहरु आजको दिनमा उठाउने हो भने अहिले दुबै पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।

मेरो ग्रुपमा कोही पनि थिएन । यस्तो कुरा हो भन्ने थाहा पाएको भए म काठमाडौं आउने नै थिइनँ । मैले पार्टीमा विद्रोह गर्ने कुरै थिएन । मैले त जे चाहेको थिएँ, त्यो अहिले पूरा भएको छ । मैले असन्तुष्ट हुनुपर्ने कुनै कारणै छैन । राज्यमन्त्री बनेँ, सांसदको टिकट पाएँ । मैले असन्तुष्ट हुनुपर्ने कुनै ठाउँ नै छैन ।

मेरातर्फबाट यस्तो काम जिन्दगीमा हुँदैन । किनभने, म अहिले पनि पेशाले डाक्टर मान्छे हुँ । खासगरिकन मधेसको मुद्दाबाट म उठेको हुँ । मेरो पृष्ठभूमि तपाईहरु राम्रोसँग हेर्न सक्नुहुन्छ । म पार्टीमा पहिले पनि थिएँ, अहिले पनि उहाँहरुसँगै छु ।

‘नयाँ पार्टी बनाउन सजिलो छैन’

मिडियाबाट कुराहरु आएपछि मैले रेणु यादवसँग पनि कुरा गरें । उहाँले असन्तुष्टि मात्रै पोख्नुभयो । तर, उहाँको पनि धेरै मेहनत छ यो पार्टीमा । त्यसैले मलाई त विश्वास छैन कि उहाँले यस्तो (विद्रोह) गर्नुहुन्छ होला ।

उहाँ संघीय समाजवादीमा उपेन्द्र यादवपछिको सिनियर महिलामा पहिलो लिडर हुनुहुन्छ । उहाँ बोल्ड महिलाका रुपमा हुनुहुन्छ । पार्टीमा उहाँको स्थान पनि धेरै राम्रो र सुरक्षित हो । उहाँले धेरै उतार– चढावहरु पनि देख्नुभएको छ । नयाँ पार्टी खोल्नु भनेको त्यो धेरै नै विकटै कुरा हो । पार्टी खोल्न, आर्थिक–भौतिकरुपले धेरै नै समस्या हुन्छ । थ्रेसहोल्डका कुराहरु पनि छन् ।

कहीँ न कहीँबाट पार्टीभित्र यस्ता असन्तुष्टिका कुराहरु आएको पक्कै पनि हो । नआएको होइन । तर, हामी अलग्गै जाँदैछौं भनेर मलाई कसैले एप्रोच गरेको छैन ।
मेरो प्रमुख सचेतक उमाशंकर अरगरियाजीसँग पनि कुराकानी भयो । उहाँ पनि अलिकति असन्तुष्ट पक्कै पनि हुनुहुन्छ । तर, यो पार्टी तोड्न लागेको मैले खासै देखिनँ ।