" /> इम्बोस्ड प्लेटको भाषा र डिजाइन नफेरिने निर्णय, नजोड्नेलाई हुँदैछ यस्तो कारबाही – News of Global

News of Global सोमबार, मंसिर १९, २०७९

काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट भाषा र डिजाइन देवनागरीमा नभएको भन्दै विवाद भएपछि रोकिएको भए पनि अब भने नफेरिने निर्णय भएको छ । सरकारले प्लेडको जडानलाई सुरुकै अवस्था र प्रक्रियाबाट अघि बढाउन निर्देशन दिएको छ । यसअघि भाषा र डिजाइन बदल्न भन्दै सरकारले गृहकार्य अघि बढाए पनि सम्भव नहुने निष्कर्ष निकाल्दै पुनः पहिलेकै निर्णयअनुसार इम्बोस्ड जडानलाई अनिवार्य गर्न निर्देशन दिएको हो ।
यसअनुसार यातायात व्यवस्था विभागले देशभरका सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्न समयसीमा नै दिएको छ । फागुनसम्म करिब तीन लाख दुईपांग्रे र एक लाख चारपांग्रे सरकारी सवारीसाधनले इम्बोस्ड प्लेट जोड्ने विभागको अनुमान छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भन्दै विभागले बिहीबार सूचना नै निकालेको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिने व्यवस्था गरेको छ । तोकिएका नजिकैको यातायात व्यवस्था कार्यालयमा पुगेर राजस्व तिरेपछि प्लेट जडान गर्न सकिने विभागले जनाएको छ । मन्त्रालयले यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ अनुसार भएको निर्णय कार्यान्वयन गर्न सबैलाई सूचित नै गरेको छ ।
यसअनुसार निजी सवारीसाधनले अहिले स्वेच्छिक रुपमा इम्बोस्ड जडान गरिरहेका छन् । फागुनपछि निजी सवारी साधनलाई पनि क्रमशः अनिवार्य गर्दै लैजाने विभागको योजना छ ।

विभागका महानिर्देशक डा. टोकराज पाण्डे इम्बोस्ड नम्बर प्लेट जडानमा अब थप आलटाल र अलमल नहुने बताउँछन् । जडान नभए पनि ठेकदार कम्पनीले ९५ प्रतिशत भुक्तानी पाउने गरी विगतमा खरिद सम्झौता भएकाले जडानलाई रोकिराख्दा देशले ठूलो मूल्य चुकाउनुपर्ने भएकाले पुनः जडानका लागि आग्रह गरेका छौं ।
अब इम्बोस्ठ प्लेट सवारीधनीले कार्यालयबाट बुझ्ने र वर्कसपमा गएर आफैंले जडान गर्नसक्ने मोडलमा जाँदैछौं,’ पाण्डेले भने, ‘यसले इम्बोस्डका लागि लाइन लाग्नुपर्ने अवस्था पनि हट्छ ।’
गत साउनमा यातायात व्यवस्था विभागले प्रदेशको नाम मात्रै र पुरै प्लेट नै नेपाली भाषामा लेख्न सकिने÷नसकिने र त्यसका लागि के–के गर्नुपर्छ भन्नेबारे ठेकदार कम्पनीसँग सुझाव मागेको थियो । गुणस्तर सुधार्न र डिजाइन बदल्न सकिने÷नसिकनेबारे पनि जवाफ मागेको थियो ।
ठेकदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्न सकिने बताएको थियो । सरकारले सोधेको प्रश्नहरुको जवाफ दिंदै ठेकेदार कम्पनीले इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न ठेक्काको मूल्य समायोजन गरेर थप ६ मिलियन डलर अर्थात् करिब ७७ करोडभन्दा बढी खर्च लाग्ने बताएको थियो ।
यसअघि एउट प्रक्रियामार्फत ५० हजारभन्दा बढी सवारीमा इम्बोस्ड जोडिसकेपछि फेरि स्वरुप र भाषा नै बदल्न नहुने निष्कर्ष निकालेर सरकारले इम्बोस्ड जडानलाई पुनः अनिवार्य गर्न सुरु गरेको हो ।
विभागका महानिर्देशक पाण्डे फागुनपछि सार्वजनिक र निजी सवारीमा पनि लट नम्बर तोकेर प्लेट जडानलाई अनिवार्य गर्ने बताउँछन् । ‘सरकारी गाडीले इम्बोस्ड प्लेट नजोडेमा फागुनपछि २ हजार रुपैयाँ जरिवाना तिराउँछौं,’ पाण्डेले भने ‘अनिवार्य गरिएका सार्वजनिक र निजी सवारीले पनि नियमअनुसार प्लेट जोड्नैपर्छ ।’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]