काठमाडौं । माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् । परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।
खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका विभिन्न भिरालो तथा खोचहरूमा ड्रोन क्यामेरा प्रयोग गरेको थियो । सोही क्रममा ड्रोन अपरेटर टार्जन लिम्बुले टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा एउटा गाडी अडकिएको देखेका थिए ।
अपरेट लिम्बुले भने,‘प्रहरीसँगको सहकार्यमा मैंले ड्रोनमार्फत शव खोजीको काम गरेको थिए । ड्रोनबाट हेर्दा सडकभन्दा ३०० मिटर तल भीरमा गाडी खसेको देखें ।’
ड्रोनबाट प्राप्त दृश्यका आधारमा उक्त गाडी दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काफ्लेको गाडी करिब ३०० मिटर तल भीरमा खसेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार माघ २५ गतेदेखि सम्पर्कविहीन भएका काफ्लेको खोजी कार्यका क्रममा फागुन १ गते ड्रोनमार्फत दुर्घटनास्थल पत्ता लगाइएको हो । हाल शव परिवारले बुझिसकेको छ भने गाडी भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसरले नेपाल न्यूज बैंकसँग भन्यो, ‘माघ २५ गतेदेखि सम्पर्क विहीन हुनुभएको रहेछ । २६ गते मानिस हराएको भन्दै परिवारले निवेदन दिएको थियो । खोजी कार्य गर्दा फागुन १ गते हामीले ड्रोन प्रयोग गरेर दुर्घटना भएको स्थान पत्ता लगायौं । अहिले शव परिवारले बुझिसकेको छ । गाडि भने दुर्घटना स्थलमै छ । के कारणले दुर्घटना भयो त्यो खुल्न सकेको छैन ।’
नेपालमा ड्रोनको प्रयोगबाट यस्ता विभिन्न कामलाई तिव्र रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा यस घट्नाले पनि देखाएको छ ।
नेपालमा सरकारले ड्रोन सम्बन्धी कार्यविधि (अनम्यान्डेड एरियल भेइकल फ्लाइट प्रोसेड्युर) जारी गरेर ड्रोन चलाउनका लागि अनुमति लिनै पर्ने व्यवस्था गरेको छ ।
पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको उपयोग गरी तस्बिर वा भिडियो दृष्य रेकर्ड गरे नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधानसहित गृह मन्त्रालयले निर्देशिका बनाएको छ ।
सही नीति नियम तथा योजनाका बलमा यस्ता नयाँ प्रविधीको बढी भन्दा बढी प्रयोग गरेर देशलाई द्रुत गतिमा अघि बढाउन सम्भव छ ।
संसारले विज्ञानलाई चुनौती दिँदै अगाडि बढीरहेको बेलामा भएका प्रविधीलाई पनि सरकारले सही रूपमा अँगाल्न सकेको छैन् । सरकारले ड्रोनप्रतिको आफ्ना नीति तथा व्यवस्थामा संशोधन गर्नु आवश्यक देखिएको छ ।